लोसपाको बैठक आजपनि बस्दै

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आजपनि बस्दै छ । 

बुधबारदेखि सुरु भएको बैठकमा अधिकांश नेताहरूले संविधान संशोधनका लागि पार्टीको प्रस्ट दृष्टिकोण बनाउन माग गरेका छन् ।बैठकमा नेताहरूले मुलुकमा विद्यमान समस्या सम्बोधनका लागि समयसापेक्ष संविधान संशोधन हुनुपर्ने र त्यसका लागि कानूनविद्को सहभागितामा एउटा कार्यदल गठन गर्न सुझाव दिए । 

पार्टी प्रवक्ता सुभाष लाभले संविधान संशोधनका साथै पार्टीको सङ्गठन सुदृढीकरण र महाधिवेशनको टुङ्गो लगाउने विषयमा पनि आफ्नो धारणा राखेको जानकारी दिए ।  यसैगरी पार्टीको आर्थिक नियमावली संशोधन, राजनीतिक, आर्थिक, सामाजिक विषयमा थप कार्यक्रम तथा योजना बनाउने विषयमा पनि छलफल भएको छ । 

बिहीबारको बैठकमा आगामी मङ्सिरमा हुने स्थानीय तह उपनिर्वाचनका लागि आवश्यक तयारी, नेताहरूको जिम्मेवारी हेरफेर, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाबारे समीक्षा, महाधिवेशनको मिति र स्थानबारे छलफल हुने बताइएको छ । 

प्रतिक्रिया