धुलिखेल–खावा सडकमा २ दिन मालवाहक गाडी सञ्चालनमा रोक

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल–खावा सडकखण्डमा दुई दिन टिपरलगायत मालवाहक सवारीसाधन सञ्चालन गर्न रोक लगाइएको छ । 

सडक मर्मतलाई निरन्तरता दिन सडक डिभिजन कार्यालय भक्तपुरले बिहीबार र शुक्रबार टिपर र मालवाहक गाडी सञ्चालनमा रोक लगाएको हो । निर्माण व्यवसायीको लापरबाहीका कारण वर्खाको समयमा सडक जीर्ण भएर काठमाडौंबाट काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, दोलखा, रामेछाप र चीन जोड्ने तातोपानी नाका आवतजावत गर्ने प्रमुख सडक जोखिमपूर्ण अवस्थामा रहेकाले निर्माण विस्तार गर्न दुई दिन मालवाहक गाडी सञ्चालनमा रोक लगाएको कार्यालयले जनाएको छ । 

निर्माणाधीन धुलिखेल–खावा सडकखण्ड अत्यन्तै जीर्ण भएकाले सडक निर्माणमा सहयोग गर्न सबैसँग कार्यालयले अनुरोध गरेको हो । निर्माण सामग्रीको ढुवानी गर्ने टिपरका साथै चीनको खासा हुँदै नेपाल भित्रिने वस्तुको ढुवानी गर्ने कन्टेनर उक्त सडकमा सञ्चालन हुँदै आएका छन्  । सडक विस्तारको करिब पाँच महिना बितिसक्दा पनि निर्माण कम्पनीले लापर्वाही गरेका कारण मध्यपहाडी क्षेत्रका नागरिकले निकै सास्ती ब्यहोर्नु परेको छ । 

यसअघि पनि गत जेठमा उक्त सडकखण्ड विस्तार कार्यका लागि करिब एक हप्ता दैनिक चार घण्टा यातायात बन्द गरिएको थियो ।  नेपालको उत्तरी नाका अर्थात् पूर्वी–उत्तरी क्षेत्र तातोपानी पुग्न अरनिको राजमार्ग हुँदै जाने गरिन्छ । यस्तै सिन्धुपाल्चोक, रामेछाप, दोलखालगायत विभिन्न ठाउँबाट आवतजावतका लागि यही राजमार्गको सडक प्रयोग हुन्छ । 

प्रतिक्रिया