हरितालिका तीज सुरु : आज दर खाने दिन

काठमाडौं । हिन्दु महिलाहरुको महान चाड हरितालिका तीजको अघिल्लो दिन आज (बिहीबार) दर खाइँदै छ । दरखाने दिनसँगै चारदिने तीज पर्व आजदेखि सुरु भएको छ । 

भाद्र शुक्ल द्वितीया अर्थात हरितालिका तीजको अघिल्लो दिन तीजको निराहार व्रत बस्न शक्ति प्राप्तिका लागि नेपाली हिन्दु नारीहरुले दर खाने परम्परा छ । दर खाने दिनमा विभिन्न मीठा परिकार बनाएर खाने र नाचगान गरेर रमाइलो गर्ने चलन छ । दर खाने दिनको भोलिपल्ट तीज पर्व पर्दछ । तीजको दिन निराहार ब्रत बस्ने भएकाले त्यसको आडका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएका खानेकुरा खाने चलन चलेको बताइन्छ । 

दरखाने समय र स्थान भने ठाउँ अनुसार फरक–फरक रहेको छ । कतै साँझमा अन्य चीज नखाई दर खाने प्रचलन छ भने कतिपय स्थानमा पहिला खाना खाएर मध्यरातमा उठेर दर खाने गरिन्छ । परापूर्वकालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ अविवाहिताले राम्रो पति पाउन र विवाहिताले पतिको सुस्वास्थ्य, दीर्घायु र प्रगतिको कामना गर्दै तीज पर्व मनाउने चलन छ । 

आज दर खाएपछि औपचारिक रुपमा सुरु हुने तीज पर्व ऋषि पञ्चमीसम्म मनाइन्छ ।  तृतीयाका दिन हरितालिका व्रत, चौथीका दिन गणेशको पूजा र पञ्चमीका दिन स्नान गरी अरुन्धतीसहित सप्तर्षिको पूजा गरी तीज समापन हुन्छ । 

तीजका अवसरमा पशुपतिनाथलगायत देशभरका शिवालयमा लाखौँ महिलाको भीड लाग्ने गरेको छ ।

प्रतिक्रिया