एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनुपर्ने आवश्यकता नै छैन: प्रधानमन्त्री ओली

फाइल तस्बिर

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली एकछिनको प्रशंसामा खुसी र एकछिनको विरोधमा दुःखी हुनु पर्ने आवश्यकता नभएको र सत्य बाहेक अरु केहीको पनि आयु लामो नहुने बताएका छन् । 

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहका समर्थकहरूले अहिले फेसबुकमा अनफलो अभियान चलाइरहेका बेला प्रधानमन्त्री ओलीले आफ्नो सामाजिक सञ्जाल फेसबुक पेजमा बुधबार एउटा भिडियो क्लिप सार्वजनिक गर्दै यस्तो बताएका हुन् । 

खासगरी एमालेकी प्रदेश सांसद रेखा शर्मालाई बालिकाको श्रमशोषण आरोप लगाएका बालेन्द्रले कारबाही नगरेको भन्दै लगातार सामाजिक सञ्जालमा लेखेपछि उनका फ्यान पनि उग्र शैलीमा प्रस्तुत भएका छन् ।

यसमा अहिलेसम्म ओलीको सचिवालय र ओलीले पनि कुनै किसिमको सार्वजनिक टिप्पणी भने गरेका थिएनन् । यसैबीच बुधबार ओलीले फेसबुकमा राखेको एउटा भिडियो क्लिपले आफूविरुद्ध थालिएको अनफलो अभियानलाई लक्षित गर्दै पोस्ट गरेको बुझ्न सकिन्छ ।

उनले भिडियोमा भने,  ‘मलाई पनि थुप्रै साथीहरूले भेट्दाखेरि जवान नै देखिनु हुन्छ भन्छन् । तर त्यसमा पत्याइ हाल्नुपर्ने जरुरी छैन’, ‘भन्दाखेरि त भर्खरको देखिनुहुन्छ भन्छन्, कसैले भर्खरको, एकदम तन्दुरुस्त र जवान देखिनुहुन्छ भनेर साथीहरूले उल्क्याउँछन् । तर म ऐना त हेर्छु नि कति मलाई उल्क्याएको हो, कति साँचो त हो भनेर । ऐनाले सबै कुरा बताइहाल्छ नि । ’

प्रतिक्रिया