न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिना अघि नै नियुक्त गर्न सर्वाेच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश पद रिक्त हुनुभन्दा एक महिनाअघि नै नियुक्त गर्नुपर्ने कानुनी व्यवस्था पालना गर्न न्याय परिषदलाई परमादेश दिएको छ ।

मंगलबार न्यायाधीशहरु हरि फुयाल र विनोद शर्माको इजलासले न्याय परिषद ऐन २०७३ को दफा ४ मा भएको व्यवस्था अनुसार सर्वोच्च अदालतका न्यायाधीशको पद रिक्त हुनुभन्दा कम्तीमा एक महिनाअघि नियुक्ति सिफारिस गर्न आदेश दिएको हो ।

परमादेशमा सर्वोच्च अदालतका न्यायाधीशको हकमा पद रिक्त हुनु एक महिनाअघि सिफारिस गर्न र उच्च तथा जिल्ला अदालतको हकमा कानुनले तोकेको अवधिभित्रै नियुक्त गर्न भनिएको छ ।

सर्वोच्चले अवकाश भएर पद रिक्त हुँदा उक्त पदपूर्ति  भइसक्नुपर्ने कानुनको मनसाय भएकाले सोही अनुसार गर्न  भनेको छ ।परिषद ऐनको दफा ४ मा नियुक्तिको लागि सिफारिस गर्ने अवधि तोकिएको छ । दफा १ मा ‘न्याय परिषदले उमेरको हदबाट अवकाश हुने सर्वोच्च अदालतका न्यायाधीशको पद यकिन गरी त्यस्तो पद रिक्त हुनुभन्दा कम्तीमा एक महिना अगाडि नियुक्तिको लागि सिफारिस गर्नेछ’ भनिएको छ ।

अधिवक्ता दिपकविक्रम मिश्रले २०७५ साल साउन १३ गते दर्ता गरेको रिटमा अन्तिम फैसला सुनाउँदै सर्वोच्चले यस्तो आदेश दिएको हो ।  सर्वोच्च अदालतमा अहिले पनि ४ जना न्यायाधीश पद खाली छ ।
 

प्रतिक्रिया