चकित्सा शिक्षा आयोगको परीक्षामा भएको त्रुटिको छानविन गर्ने शिक्षामन्त्रीको प्रतिबद्धता

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले चिकित्सा शिक्षा आयोगको परीक्षामा ठूलो त्रुटि भएको भन्दै छानविन गर्ने प्रतिबद्धता जनाएकी छिन् । प्रतिनिधि सभा अन्र्तगतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा उनले नतिजा आएपछि आफू निरन्तर आयोगसँग छलफलमा रहेको भन्दै समस्या हल गर्ने बताएकी हुन् ।  मन्त्री भट्टराईले आयोगलाई स्वतन्त्र ढंगले काम गर्नका लागि कमी हुन नदिएको र कुनै हस्तक्षेप नगरेको जिकिर समेत गरिन् । 

आयोगका उपाध्यक्ष डा. अञ्जनीकुमार झाले समान नम्बर लिएर आएको समूहमात्रै नतिजा फरक परेको भन्दै छानबिनका लागि तयार रहेको उनको भनाइ छ ।  सरोकारवालासँग छलफलपछि समितिले आयोगले लिएको प्रवेश परीक्षाको नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा १० दिनभित्र छानबिन गर्न निर्देशन दिएको छ । 

समितिले नतिजा प्रकाशनमा भएको त्रुटिका विषयमा छानविन गरी प्रतिवेदन पेस गर्न निर्देशन दिएको हो । त्यस्तै आगामी दिनमा मेरिट प्रणालीमा कुनै पनि सम्झौता नगरी आमनागरिक र सम्बन्धित व्यक्तिहरुको विश्वास जित्ने गरी आवश्यक सुधार गर्न पनि समितिले भनेको छ । बैठकमा समिति सदस्यहरुले चिकित्सा शिक्षा आयोगको परीक्षामा ठूलो त्रुटि भएको भन्दै छानबिनको माग गरेका थिए । रोल नम्बर एउटा विद्यार्थीको र प्राप्तांक अर्को विद्यार्थीको भई झन्डै तीन हजारभन्दा बढी विद्यार्थीको नतिजा परिवर्तन आएको भन्दै विद्यार्थीसमेत आन्दोलित छन् । 
 

प्रतिक्रिया