संसदीय समितिद्धारा एमबीबीएसको प्रवेश परीक्षाको त्रुटि सच्याउन सरकारलाइ निर्देशन

काठमाडौं । संसदीय समितिले चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन सरकारलाई निर्देशन दिएको छ । बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले प्रवेश परीक्षाको नतिजामा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकालेको हो ।

समितिले आमजनता र सम्बन्धित विद्यार्थीलाई विश्वासमा लिएर त्रुटि सच्याउन भनेको छ । परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्तांक अर्कै विद्यार्थीको नाममा आउनेजस्तो गम्भीर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिइएको हो । समितिले यसबारे तत्काल छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन समितिमा पेस गर्न पनि भनेको छ ।

बैठकमा समितिका सदस्यहरूले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्य नै डामाडोल हुने गरी परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए ।

प्रतिक्रिया