गाजा युद्धविराम सम्झौताको समय आएको अमेरिकी भनाइ

एजेन्सी । अमेरिकाले गाजा युद्ध अन्त्यका लागि इजरायल र हमासबीच भएको सम्झौतालाई ‘अन्तिम रूप’ दिने समय आएको बताएको छ ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अन्तर्राष्ट्रिय दबाबसामु झुक्न अस्वीकार गरिरहेका समय इजरायलको प्रमुख सहयोगी अमेरिकाले सम्झौताका लागि जोड दिएको हो ।  

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले इजिप्ट र कतारसँग मिलेर अन्तिम सहमतिका लागि दबाब दिने बताएका हुन् । नेतन्याहूले युद्धग्रस्त प्यालेस्टिनी भूमिबाट मारिएका छ जना बन्धकलाई इजरायली सेनाले स्वदेश लगेपछि बढ्दो घरेलु र अन्तर्राष्ट्रिय दबाबका बावजुद हमाससँगको अप्रत्यक्ष वार्तामा ‘लचकता अपनाउन’ अस्वीकार गरेपछि मिलरको यो भनाइ आएको हो । संयुक्त राष्ट्रसङ्घका मानव अधिकार प्रमुख भोल्कर तुर्कले  गाजामा छ जना बन्दीलाई मृत्युदण्ड दिइएको भन्ने समाचारको ‘स्वतन्त्र, निष्पक्ष र पारदर्शी छानबिन’ हुनुपर्ने बताएका छन् । 

सरकारलाई दबाब दिन र बन्धक बनाइएकाहरूको भविष्यबारे चिन्ता व्यक्त गर्न सडकमा उत्रिएका इजरायलीहरूबीच बढ्दो दुःख र आक्रोशको बावजुद नेतन्याहूले भने आफू ‘दबाबमा नझुक्ने’ बताएका छन । इजरायली प्रधानमन्त्रीले ‘युद्धको उद्देश्य प्राप्तिका लागि’ गाजा–इजिप्ट सीमामा रहेको फिलाडेल्फिया करिडोरको नियन्त्रण आवश्यक रहेको बताउदै आएका छन् । हमासले लामो समयदेखि गाजाबाट इजरायली सेनाको पूर्ण फिर्ताको माग गर्दै आएको छ । 
 

प्रतिक्रिया