आज बकर इद: मस्जिद र इदगाहहरुमा सामूहिक नमाज पढेर खुशी साटासाट
मुस्लिम धर्मावलम्बीहरुको महान् पर्व बकर इद आज मनाइँदैछ । इदुल फित्र अर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । यसलाई इद उल अजहा पनि भनिन्छ । यस दिन मुस्लिम धर्मावलम्बीहरुले विहानै मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्ने गर्दछन् । नमाज पढिसकेपछि एकापसमा अङ्कमाल गर्दै शुभकामना आदानप्रदान गरिन्छ । बकर इदका अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लागेको छ । नमाज पाठसहितको ध्यान सकेपछि साथीभाइबीच शुभकामना साटासाट गरी घरमा गएपछि कुर्वान दिने चलन छ । कुर्बान दिएको मासुलाई तीन भाग लगाई एक भाग परिवारले भोजन गर्ने, एक भाग पाहुनालाई दिने र एक भाग गरिब एवम् दीन दुःखीलाई बाँड्ने धार्मिक विधान छ । बकर इद आजदेखि तीन दिन मनाइन्छ । हिजरी संवत् अनुसार एक हजार ४ सय ३५ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । इदका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री पुष्पकमल दाहाल लगायत प्रमुख दलका नेताहरुले शुभकामना दिएका छन् । सन्देशमा नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने उल्लेख छ ।।
बाँके इद
बाँकेका मुस्लिम धर्मालम्बीहरुले इद उल फित्र अर्थात बकर ईद धुमधामका साथ मनाएका छन् । नेपालगन्जको बिपिचोक नजिकै रहेको मस्जितमा गई बिहान साढे सात बजे नमाज पढेर बकर इद मनाएका हुन् । आज देखि तिन दिन सम्म मनाईने इद उल फित्र को अवसरमा राँगा, बोका, भेडा काटेर आफन्तलाई घरमै बोलाएर मासु, पुलाउ, सेवै खुवाउने चलन रहेको छ । कुर्वानी गरिएको मासु एक भाग आफूले, एक भाग आफन्त र एक भाग गरिब ब्यक्ति तथा परिवारलाई दिने मुस्लिम समुदायको चलन रहेको छ । मुस्लिम समुदायहरुमा ऋण नभएका ब्यक्ति वा परिवारले मात्र बकर ईदको अवसरमा कुर्वानी गर्ने र ऋण भएकाले कुर्वानी गर्न नहुने परंपरा रहेको मुस्लिम समुदायका धार्मिक अगवाले जनाएका छन् । बकर ईदको अवसरमा छोरी चेली, आफन्त बोलाएर घरमा बनेको परिकार खुवाउने समेत चलन छ ।।
प्रतिक्रिया