एक महिना मनाइने गुँला पर्व सम्पन्न

काठमाडौं । चान्द्रमासअनुसार श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म एक महिना मनाइने गुँला पर्व आज सम्पन्न भएको छ । विशेषगरी बौद्ध समुदायले मनाउने यो पर्वमा सांस्कृतिक बाजागाजाका साथमा बुद्ध भगवानको भजनकीर्तन गाएर मठमन्दिर, बौद्ध चैत्य परिक्रममा गरी मनाइएको छ । 

नेपाल भाषामा ‘गुँ’ को अर्थ नवौँ र ‘ला’ को अर्थ महिना हो । यसरी गुँलाको अर्थ नवौँ महिना भन्ने बुझिन्छ । साउन २१ गतेदेखि सुरु भएको यस पर्व विभिन्न स्थानीय बौद्ध चैत्यको परिक्रमा गरी आज सम्पन्न भएको हो । यस पर्वमा प्रत्येक दिन नौ बाजा बजाएर चैत्य तथा मन्दिर परिक्रममा गरिने, एक महिनासम्म व्रर्तालुले नुन नखाई एक छाकमात्र खाने र पर्व अवधिभर बिहान बेलुका पूजाअर्चना गर्ने प्रचलन रहेको छ । 

पर्वमा स्वयम्भू महाचैत्य, बौद्ध चैत्य, स्थानीय बहाः, बही, चैत्यलगायत उपत्यकाका विभिन्न चैत्यस्थलको दैनिक परिक्रमा गरिएको थियो । यस पर्वमा राँगा, भेडाको सिङबाट बनाइएको ‘न्याकुँ’ बाजा, दाफा, धाः, बाँसुरी, धिमे, भुस्यालगायत नौ बाजा बजाएर परिक्रमा गर्ने प्रचलन छ । 

काठमाडौंवासीले स्वयम्भू महाचैत्य दर्शन गरेपछि शोभा भगवती हुँदै विजयेश्वरी र त्यहाँबाट केलटोलस्थित सेतो मत्स्येन्द्रनाथ दर्शन गर्ने, ललितपुरवासीले पाटन र चोभारस्थित मत्स्येन्द्रनाथ मन्दिर, मन्जुश्री, गोल्डेन टेम्पललगायत पाटनका बिभिन्न विहार, महाविहारमा पूजा गर्न चलन छ । गुँला पर्व भक्तपुर, काठमाडौँ, ललितपुर, कीर्तिपुर, मध्यपुरथिमिमा पनि यस्तै प्रक्रियाबाट मनाउने परम्परा छ ।

प्रतिक्रिया