रुसी आक्रमणमा युक्रेनमा ५१ जनाको मृत्यु, २७१ जना घाइते

एजेन्सी । युक्रेनमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा ४९ जनाको मृत्यु भएको छ भने २ सय १९ जना भन्दा बढी घाइते भएका छन् । 

युक्रेनको मध्यपूर्वी क्षेत्रको पोल्टावामा एक सैन्य तालिम केन्द्र र नजिकैको अस्पतालमा दुई वटा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार भएको युक्रेनका राष्ट्रपति भोलोदिमर जेलेन्स्कीले जानकारी दिएका हुन् । पोल्टावा सैन्य, सञ्चार संस्थानको भवनहरूमध्ये एक आंशिक रूपमा नष्ट भएको बताइएको छ । धेरै मानिस बम आश्रय स्थलतर्फ जाँदै गर्दा हवाई आक्रमणको चेतावनी जारी भएलगत्तै क्षेप्यास्त्रहरू प्रहार भएका थिए । 

युक्रेनको रक्षा मन्त्रालयले आक्रमणलाई ‘बर्बरतापूर्ण’ भनेको छ । पोल्टावाका गभर्नर फिलिप प्रोनिनले बुधबारदेखि तीन दिने शोकको घोषणा गरेका छन् । उद्धार टोली र चिकित्सकहरूले २५ जनालाई बचाएको रक्षा मन्त्रालयले विज्ञप्तिमा बताएको छ । तीमध्ये ११ जनालाई भग्नावशेषबाट बाहिर निकालिएको बताइएको छ । 

आक्रमण भएको पोल्टावा किभबाट करिब तीन सय ५० किलोमिटर दक्षिणपूर्वमा रहेको छ । रुसको सीमा नजिकै रहेको यो शहर किभ र युक्रेनको दोस्रो सबैभन्दा ठूलो शहर खार्किभ बीचको मुख्य राजमार्ग र रेलमार्गमा छ ।  सन् २०२२ फेब्रुअरी २४ मा युद्ध सुरु भएपछि यो आक्रमण रुसी सेनाले गरेको सबैभन्दा घातक आक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । 
 

प्रतिक्रिया