एमाले पोलिटब्यूरो बैठक आज पनि बस्दै

काठमाडौं । नेकपा एमालको पोलिटब्यूरो बैठक बुधबार  पनि बस्दैछ । पार्टी केन्द्रीय कार्यालयमा च्यासलमा बिहान ११ बजेबाट सुरू हुने बैठकमा पोलिटब्युरो सदस्यहरूले धारणा राख्ने क्रम जारी रहनेछ । 

प्रत्येक सदस्यहरूलाई बोल्न तीन मिनेट समय दिइएको छ । मंगलबारको बैठकमा महासचिव शंकर पोखरेलले निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि वार्षिक कार्ययोजना प्रस्तुत गरेका थिए । कार्ययोजनामा सदस्यतादेखि संगठन विस्तारको खाका प्रस्तुत गरिएको छ । 

त्यस्तै, एमालेले आगामी आवधिक निर्वाचनमा कसैसँग तालमेल नगर्ने नीतिलाई अघि सार्ने तयारी गरेको छ । मंगलबारको बैठकमा अध्यक्ष ओलीले नेपाली कांग्रेसको एक्लाएक्लै चुनाव लड्ने निर्णयको स्वागत गर्दै एमालेले पनि चुनावअगाडि कसैसँग सहकार्य नगर्ने बताएका थिए । 

स्थानीय तहको उपनिर्वाचन मंसिरमा हुँदैछ । त्यो चुनावमा कसैसँग तालमेल नगर्ने गरी कार्ययोजना बनाउन लागेको हो । संगठित सदस्यको संख्या १० लाख पुर्‍याउने एमालेको लक्ष्य छ । त्यस्तै, वार्षिक कार्ययोजनामा बाँकी रहेका जिल्ला अधिवेशन, पालिका र वडा तहका अधिवेशन सम्पन्न गर्ने उल्लेख गरिएको छ  । एमालेले तहगत कमिटीमा १० देखि ३३ प्रतिशतसम्म युवा सहभागितालाई सुनिश्चितता गर्ने गरी कार्ययोजना अघि सारेको छ । 

प्रतिक्रिया