वैदेशिक रोजगारमा पठाउने भन्दै लाखौँ ठगी गर्ने दुई जना पक्राउ

काठमाडौं ।  विभिन्न देशमा वैदेशिक रोजगारमा पठाइदिने भन्दै  २२ लाख र ५० लाख रुपैयाँ ठगी गरेको अभियोगमा प्रहरीले दुई जनालाई मंगलबार पक्राउ गरी सार्वजनिक गरेको छ ।

पक्राउपर्नेमा काभ्रेपलाञ्चोक रोशी गाउँपालका–६ लेखपानीका ३२ वर्षीय बुद्ध लामा तथा बर्दिया गेरुवा गाउँपालिका–२ घर भई हाल काठमाडौं टोखा नगरपालिका–१० बस्ने ४३ वर्षीय मानबहादुर चौधरी रहेका प्रहरीले जनाएको छ । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यकानुसार बेरोजगार युवायुवतीलाई आकर्षक तलबको प्रलोभनमा पारी न्यूजील्याण्ड र उज्वेकिस्तानलगायत देशमा लैजाने भन्दै पीडितलाई लामो समयसम्म झुक्यार विदेश नपठाइ सम्पर्कविहीन भएको उजुरीका आधारमा निजलाई पक्राउ गरिएको हो ।

लामाले विदेश पठाउने भन्दै सात जनाबाट रु १० लाख तथा चौधरीले छ जनाबाट रु १२ लाख ५० हजार लिएको अनुसन्धानबाट खुल्न आएको सूचना अधिकारी आचार्यले जानकारी दिए ।  पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया