पोलिटब्यूरो बैठकमा ओलीको ब्रिफिङ: एमाले-कांग्रेसको सहमति देखि प्रचण्डको गतिबिधि र टिप्पणी सम्म

काठमाडौँ ।   प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमतिमा शंका नगर्न बताएका छन् । केन्द्रीय कार्यालय च्यासलमा मंगलबार सुरु भएको पोलिटब्यूरो बैठक उद्घाटन गर्दै ओलीले एमाले र कांग्रेसबीच भएको सात बुँदे सहमति अक्षरशः कार्यान्वयन हुने बताउँदै यसमा कसैले शंका नगर्न बताएका हुन् ।

उनले कांग्रेस पनि सहमति कार्यान्वयनमा प्रतिबद्ध रहेको बताए ।ओलीले कांग्रेस र एमालेबीच बलियो सम्बन्ध भएको उल्लेख गर्दै यो गठबन्धन २०८४ को निर्वाचनसम्म जाने बताए ।
‘म निर्धारित समयभित्रै सरकारको नेतृत्व छोड्छु, त्यसपछि शेरबहादुर देउवा प्रधानमन्त्री भएर चुनावमा जान्छौं’, प्रधानमन्त्री ओलीले भनेका छन् । देउवा नेतृत्वको सरकारले गर्ने ०८४ सालको चुनावमा एकल प्रतिस्पर्धा हुने पनि ओलीले बताए ।
प्रतिपक्ष माओवादी केन्द्रका नेताहरुले कांग्रेस-एमाले गठबन्धनप्रति प्रश्न गरिरहेका बेला ओलीले सरकारलाई घेराबन्दी गर्ने प्रयास भए पनि यसले सचेततापूर्वक काम गरिरहेको बताए । उनले सय दिन पूरा नहुँदै सरकारलाई घेराबन्दीको प्रयास भइरहेकाले त्यसलाई चिर्न समेत नेताहरूलाई निर्देशन दिएका छन् ।

ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पछिल्लो राजनीतिक भूमिकाबारे पार्टी बैठकमा ब्रिफिङ गर्दै प्रचण्डको भूमिका सही नभएको टिप्पणी गरेका छन् । उनले सरकारबाट बाहिरएपछि प्रमुख प्रतिपक्ष दलका अध्यक्ष पुष्पकमल दाहालले संसदभित्र र बाहिर दिएको अभिव्यक्ति आपत्तिजनक भएको उल्लेख गर्दै त्यसको प्रतिवाद गर्न आवश्यक भएको बताए । दाहालले एमाले अध्यक्ष एवं प्रधानमन्त्रीमाथि लगाएको आरोप कुण्ठाग्रस्त भएको ओलीको भनाइ थियो ।

एमालेविरुद्ध राष्ट्रिय र अन्तराष्ट्रिय शक्तिले घेराबन्दी गर्ने प्रयास भइरहेको दाबी गर्दै ओलीले पार्टीले सन्तुलित ढंगले कदम चाल्ने र त्यही अनुसार काम गर्न पोलिटब्युरो सदस्यलाई निर्देशन दिए । उनले माओवादीतर्फ संकेत गर्दै मुलुकमा अराजकता सिर्जना गरेर फाइदा लिन केही राजनीतिक दल र अराजकतावादी शक्ति सक्रिय रहेको बताएका थिए ।

बैठकमा ओलीले मिसन ०८४ मा एमालेलाई राष्ट्रिय निर्णायक शक्ति बनाउन अहिलेदेखि तयारी गर्नुपर्ने बताए । 


 
 

प्रतिक्रिया