रानीजमरा कुलरिया सिँचाइ आयोजनालाई छिट्टै सम्पन्न हुन्छ : मन्त्री खड्का

फाइल तस्बिर

काठमाडौं । ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले रानीजमरा कुलरिया सिँचाइ आयोजनालाई छिट्टै सम्पन्न गर्न सरकारले आवश्यक तदारुकता देखाएको बताएका छन् । 

राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसद मनकुमारी साह गरिमाले सोध्नु भएको प्रश्नको जवाफमा मन्त्री खड्काले कैलालीको ३८ हजार तीन सय हेक्टर खेतीयोग्य जमिनमा सिंचाइ सुविधा उपलब्ध गराउने लक्ष्यका साथ शुरु भएको आयोजना सम्पन्न गराउन स्पष्ट कार्ययोजनाका साथ काम भइरहेको बताए । आर्थिक वर्ष २०६४/६५ देखि शुरु भएको सो आयोजना आव २०८०/८१ मा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । 

गुरुयोजना बमोजिम पर्याप्त रकम व्यवस्था नहुनु, जग्गा मुआब्जाको समस्या, वनको रुख कटानमा समस्याजस्ता कारणहरुले गर्दा निर्धारित समयमा सम्पन्न हुन नसकेको उन भनाइ छ । आयोजना लम्कीतर्फ विस्तार गरी कूल छ हजार हेक्टरका लागि सिँचाइ सुविधा उपलब्ध गराउन शाखा–प्रशाखा नहरलगायतका काम बाँकी रहेको छ । 

हालसम्म सो आयोजनामा रु २० अर्ब पाँच करोड बढी खर्च भएको छ । सो आयोजनाको भौतिक प्रगति ७४ प्रतिशत बराबर भएको छ । आयोजनाको दुई वटा खण्डको काम अन्तिम चरणमा रहेको भए पनि तेस्रो खण्डको काममा केही ढिलाइ भएको जानकारी दिँदै समस्या समाधानका लागि पहल भएको मन्त्री खड्काले बताए । सो आयोजनाको कूल लागत रु २७ अर्ब ७० करोड बराबर रहेको छ । 

अधुरा आयोजना सम्पन्न गर्ने र परिमाणमुखी बनाउने सरकारको लक्ष्य रहेको मन्त्री खड्काले सदनलाई जानकारी दिए । यस्तै, बुढीगण्डकी जलविद्यत आयोजनालाई अगाडिबढाउन सरकारले आवश्यक पहल गरिरहेको उनले जानकारी दिए ।  सुनकोशी मरिण डाइभर्सन आयोजनालाई पनि उत्तिकै प्राथमिकता दिएर काम गरिरहेको समेत जानकारी दिए । 

प्रतिक्रिया