चीनमा स्कुल बस दुर्घटना हुँदा ११ जनाको मृत्यु
एजेन्सी । पूर्वी चीनको एउटा माध्यमिक विद्यालय बाहिर मंगलबार एउटा स्कुल बस मानिसहरूको भिडसँग ठोक्किदा ११ जना अभिभावक र विद्यार्थीहरूको ज्यान गएको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।
राज्य प्रसारणकर्ता सिसिटिभीले बिहान ७ः२७ बजे (स्थानिय समय) शानडोङ प्रान्तको ताइआन सहरको विद्यालय पुग्दा ड्राइभरले गाडीको नियन्त्रण गुमाएको बताएको छ ।
सिसिटिभीका अनुसार बस सडक छेउमा अभिभावक र विद्यार्थीहरुको भिडसँग ठोक्किएको थियो । हालसम्म ११ जनाको मृत्यु भएको छ, जसमध्ये छ जना अभिभावक र पाँच जना विद्यार्थी थिए, प्रसारणकर्ताले जनाएको छ । साथै घाइते हुनेमध्य एक व्यक्तिको अवस्था गम्भीर रहेको र अन्य १२ जनाको अवस्था सामान्य रहेको बताएको छ ।
सामाजिक सञ्जालमा प्रसारण भएको फोटो र भिडियोमा रगतले लतपतिएका मानिसहरू खैरो बस नजिकै सडकमा लडेको देखाइएको छ । ड्राइभरलाई स्थानीय प्रहरीले पक्राउ गरेको र घटनाको अनुसन्धान भईरहेको सिसिटिभीले जनाएको छ ।
कमजोर सुरक्षा मापदण्ड र अव्यवस्थित चलाईका कारण देशमा घातक सडक दुर्घटना बारम्बार हुने गरेका छन् । गत जुलाईमा चीनको मध्य सहर चाङ्सामा एउटा गाडी पैदल यात्रीहरूसँग ठोक्किदा आठ जनाको मृत्यु र पाँच जना घाइते भएका प्रहरीले जनाएको थियो ।
प्रतिक्रिया