जनताले व्यवस्थाको विकल्प खोजेका छन्, आवाज दवाउन सकिदैन: लिङदेन

जनताले सरकारको काम मन नपाइरहेको स्वीकार्दै सच्चिन आग्रह

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले जनताले व्यवस्थाको विकल्प खोजेको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा उनले सरकारले केही युवाको आवाज दबाउन खोजेको जिकिर गर्दै जनताले व्यवस्थाको विकल्प खोजेको बताएका हुन् । गौरा पर्वमा नेताको विरोध गर्नेप्रति सरकारको व्यवहारका विषयमा उनले प्रश्न उठाए । उनले जनताको आवाज दमन गर्न नसकिने बताए ।

“अस्ति भर्खरै खुलामञ्चमा केही युवाहरूले विरोध जनाए । त्यसलाई सरकारले सकारात्मक रूपमा लिनुपर्ने, हामीले सुध्रनुपर्ने धेरै ठाउँ बाँकी रहेछ भनेर लिनुपर्नेमा त्यसमा सरकारको ठूलो आक्रोश पोखियो,” उनले भने, “जुन प्रकारको धरपडका प्रयासहरू भए, म सरकारमा रहनुभएका सबैलाई र सरकारको नेतृत्वलाई भन्न चाहन्छु– यो शुभसंकेत होइन । यसलाई तपाईंले पक्रेर र टेलिभिजनमा वा सार्वजनिक मञ्चमा ठूलो स्वरमा बोलेर दमन गर्न सक्नु हुन्न ।”

उनले जनताले सरकारको काम मन नपाइरहेको स्वीकार गर्न आग्रह गरे । नत्र व्यवस्थाको विकल्प खोजी गरिनेतर्फ उनले सचेत गराए । 

उनले सरकारले देशका समस्याजस्ता महत्त्वपूर्ण विषयमा ध्यान नदिएको आरोप लगाए । “रुस–युक्रेन युद्धमा ४० जना नेपाली युवाको ज्यान गइसकेको छ । कति युक्रेन सेनाको नियन्त्रणमा छन् । विपीन जोशीको ओत्तोपत्तो छैन,” उनले भने, “गल्फमा मात्रै हजारौँ युवाहरू जेलमा छन् । यता चाडबाड नजिक आउँदा महँगी यसरी बढिरहेको छ कि यो किनेर खानेहरूलाई मात्र थाहा छ । महँगी चरम रूपमा बढेको छ । यी र यस्तो विषयमा सरकारको चासो छैन ।”

 
सरकार ठूला व्यापारी पोस्ने र आफ्नो दुनो सोझ्याउनेमै केन्द्रित बनेको पनि उनले आरोप लगाए । एनसेल धेरै देशमा काम गरेको ‘मल्टिनेसनल’ कम्पनी भएको भन्दै उनले नेपालमा नेताहरूका कारण बारबार विवादमा आउने गरेको बताए ।

“अस्ति एनसेललाई किस्ताबन्दीमा कर तिर्ने छुट दिने निर्णय सरकारले गर्‍यो । किन त्यस्तो हुन्छ होला रु किन व्यापारीहरू यहाँ मात्रै कर तिर्नै अप्ठेरो मान्छन् ? किन यहाँ मात्रै ती व्यापारीहरू विवादमा पर्छन् ?,” प्रश्न गर्दै लिङदेनले भने, “एनसेल एक्जिआटा कम्पनी हो । उसको व्यापार नेपालमा मात्रै छैन, उसको व्यापार मलेसियामा छ, कम्बोडियामा छ । अन्यत्र पनि छ । ती देशहरूमा विवाद आउँदैन, हाम्रोमा मात्रै किन विवादमा आउँछ ?”

लिङ्देनले सरकारले एनसेललाई किस्ताबन्दीमा किन कर तिर्ने मौका दिएको भन्दै प्रश्न गरेका छन् । उनले दुई ठुला दल मिलेर बनेको सरकारले गर्छु भनेको राम्रो काम भनेको एनसेललाई कर सुविधा दिनु पो रहेको भन्दै व्यङ्ग गरे
 

 

प्रतिक्रिया