१५ दिन थप गरियो सहकारी छानबिन समितिको म्याद

काठमाडौं । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानविन विशेष समितिको कार्यवधि १५ दिन थप भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकले समितिको म्याद १५ दिन थप गरेको हो ।  समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले समयावधि थपका लागि गरेको प्रस्ताव बैठकले स्वीकृत गरेको हो । समितिका सभापतिको समयावधि थपको प्रस्ताव सभामुख देवराज घिमिरेले निर्णायर्थ सभासमक्ष पेश  गरेपछि प्रतिनिधि सभाबाट सर्वसम्मतिले पारित भएको हो
गएको जेठ १५ गते ७ सदस्यीय समिति गठन गरेको थियो । जेठ २३ गते पहिलो बैठक बसेको थियो । तीनमहिने म्याद आगामी भदौ २२ गते सकिन लागेकाले म्याद थप गरिएको हो ।  ।

प्रस्ताव पेश गर्ने क्रममा विशेष समितिका सभापति थापाले हालसम्म समितिले विभिन्न सहकारी संस्थाको बचत रकम अपचलनमा जोडिएका भनी आरोपित ५० जना व्यक्तिहरुसँग सोधपुछ कार्य गरिसकिएको बताए ।

समितिको कार्यादेश भित्ररही संघ, प्रदेश र स्थानीय तहका सहकारीसँग सम्बद्ध निकायहरुसँग छलफल, सहकार्य र समन्वय गरी कार्य गरिरहेको पनि उनले बताए ।

उनले सार्वजनिक विदाको दिनबाहेक समितिले विहान, दिउँसो र मध्यरातिसम्म काम गरिरहेको जानकारी गराए । समितिले अथक मेहनत गरिरहँदा पनि निर्धारित समय यही भदौ २२ गते सम्म काम समाप्त हुन नसक्ने अवस्था आइपरेको बताए ।

प्रतिक्रिया