कतारका प्रस्तावित राजदूतले भने: श्रमिकको समस्या समाधान र वैकल्पिक श्रम बजारको संयुक्त पहल गर्छु

काठमाडौं । संसदीय सुनुवाइ समितिले मंगलबार कतारका लागि प्रस्तावित राजदूतको संसदीय सुनुवाइ गरेको छ । सिंहदरबारमा समिति बैठकले कतारका लागि प्रस्तावित राजदूत रमेश चन्द्र पौडेलले संसदीय सुनुवाइ गरेका हुन् । बैठकमा आफ्नो भावी कार्ययोजना प्रस्तुत गर्दै पौडेलले नेपाल र नेपालीको सर्वोपरि हित रक्षा गर्नु र प्रवद्धन गर्ने, कतार सरकारसँगको सम्बन्ध विस्तार र सबल बनाउन काम गर्ने बताए ।

कतार र नेपालबीच भएका श्रम सम्झौता पुनर्लेखन र नवीकरण गर्दा देखिएका समस्या समाधानका प्रावधान समावेश गर्ने अधिकतम प्रयास गर्ने उनको भनाइ थियो । रोजगारदाताको कार्यस्थलको अनुगमन गर्ने, कार्यक्षेत्रमा देखिएका श्रमिकको समस्या समाधान गर्ने, वैकल्पिक श्रम बजारका लागि संयुक्त पहल गर्ने, प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लगायतका काम गर्ने पौडेलले उल्लेख गरे । 

रुसका लागि जंगबहादुर चौहान र साउदी अरबका लागि प्रस्तावित नरेशविक्रम ढकाल, दक्षिण कोरियाका लागि डा. शिवमाया तुम्बाहाम्फे, दक्षिण अफ्रिकाका लागि श्रेष्ठ, स्पेनका लागि सनिल नेपाल, श्रीलंकाका लागि रामकृष्ण भट्टराई, बेलायतका लागि चन्द्रकुमार घिमिरे र अमेरिकाका लागि प्रस्तावित लोकदर्शन रेग्मीको सुनुवाइ हुन बाँकी छ । सोमबार पाकिस्तान, मलेसिया, इजरायल र पोर्चुगलका लागि प्रस्तावित राजदूतको सुनुवाइ भएको थियो ।

सो क्रममा इजरायलका लागि प्रस्तावित धनप्रसाद पण्डित, मलेसिया नेत्रप्रसाद तिमिल्सिना, पोर्चुगलका प्रकाशमणि पौडेल र पाकिस्तानका रिता धितालले दुई पक्षीय सम्बन्ध थप विस्तारमा काम गर्ने प्रतिबद्धता जनाएका थिए । यसअघि आईतबार चीनका लागि प्रस्तावित प्राडा कृष्णप्रसाद ओली, भारतका लागि शंकरप्रसाद शर्मा, जर्मनीका लागि डा. शैल रूपाखेती र डेनमार्कका लागि प्रस्तावित सुम्निमा तुलाधरको सुनुवाइ भएको थियो । प्रस्तावित १७ राजदूतको सुनुवाइ ८ दिनमा सम्पन्न गर्ने गर्ने लक्ष्य राखिएको छ ।
 

प्रतिक्रिया