सार्वजनिक बिदामा ओ.पी.डी. चलाउन नसक्ने भन्दै निर्णय फिर्ता लिन चिकित्सक संघको माग

काठमाडौं । नेपाल चिकित्सक संघले सार्वजनिक बिदाका दिन बहिरंग सेवा (ओपीडी) सञ्चालन गर्ने सरकारको निर्णय अव्यवहारिक भएको बताएको छ । मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै संघले यस्तो निर्णयले चिकित्सक स्वास्थ्यकर्मीहरूमाथि अन्याय भएको भन्दै फिर्ता गर्न माग गरेको छ । 
स्वास्थ्य क्षेत्रमा जनशक्ति कम र सेवा सुविधा पनि ज्यादै न्यून रहेको अवस्थामा बिदाका दिनमा ओपीडी सञ्चालन गर्न सम्भवन नभएको संघको ठहर छ । सातामा दुईदिने अन्तर्राष्ट्रिय अभ्यासविपरीत सरकारले अन्यायपूर्ण निर्णय गरेको संघले जनाएको छ । आराम गर्ने समय समेत नदिँदा उनीहरूमा मानसिक समस्या निम्तिइ सेवा प्रवाहमा ह्रास आउने र यसले सामाजिक विचलनसम्म पुर्‍याउने संघको ठहर छ । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गत भदौ ७ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पत्राचार गर्दै सार्वजनिक बिदाका दिनमा समेत ओपीडी सेवा प्रवाह गर्ने व्यवस्था गर्न भनेको थियो । 

सोही पत्र र २०८० पुस १२ गतेको मन्त्रिपरिषद्को निर्णयलाई आधार मान्दै मन्त्रालयले सबै संघीय अस्पताललाई निर्णयअनुसार गर्न सोमबार सर्कुलर गरेको थियो । 

प्रतिक्रिया