बोल्दा जिब्रो थुतिदिन्छु भन्नु कहाँको वाक स्वतन्त्रता हुन्छ ?- सांसद झा

मन्त्रीलाई सभ्यता सिकाउन सुझाव

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मंगलबारको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सरकारका प्रवक्ता समेत रहेका मन्त्रीले प्रहरी संगठनका प्रमुखले बोल्दा जिब्रो थुतिदिन्छु भन्दा कहाँको वाक स्वतन्त्रता हुन्छ भनी प्रश्न गरे । उनले लोकतन्त्रको पाँचवटा आधारभूत सिद्धान्तमध्ये पहिलो फ्रिडम अफ एक्सप्रेसन भएको उल्लेख गरे । 

“लोकतन्त्रको पाँचवटा आधारभूत सिद्धान्तमध्ये पहिलो फ्रिडम अफ एक्सप्रेसन हो । प्रहरी संगठनका प्रमुखले सांगठनिक चुनौती अभिव्यक्त गर्नुभयो भने सरकारका प्रवक्ता तथा मन्त्रीले जिब्रो थुतिदिन्छु भनेर भन्छन् भने कहाँको वाक् स्वतन्त्रता र कहाँको लोकतन्त्र ?,” उनले प्रश्न गरे । 
उनले एमालेका अग्रज नेताले पहिले आफ्ना मन्त्रीलाई सभ्यता सिकाउन सुझाव पनि दिए । ‘हामीले त्यही दलका पाको अग्रजहरूले सभ्यता सिकाउनुहुन्छ भने अनुरोध छ । आफ्नै मन्त्रिपरिषद्को मन्त्रीलाई पहिला सिकाउनुस्,’ उनले भने ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री पुथ्वी गुरुङ सुब्बाले शनिबार पोखरामा भएको कार्यक्रममा   आईजीपीको  'जिब्रो थुतिदिनुपर्ने' भन्ने अभिव्यक्ति दिएका थिए ।  

प्रतिक्रिया