इजरायली प्रधानमन्त्री नेतान्याहुले मागे माफी

एजेन्सी । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले मृत अवस्थामा भेटिएका ६ जना बन्धकलाई मुक्त गर्न नसकेकोमा इजरायली जनतासँग माफी मागेका छन् । 

हालै ६ जना बन्धकको शव इजरायल ल्याइएपछि चर्केको प्रदर्शनकै क्रममा प्रधानमन्त्री नेतान्याहुले इजरायली जनता र मृतकका परिवारसँग माफी मागेका हुन् । इजरायल सरकारको समन्वय अभावका कारण बन्धकहरु मारिएको भन्दै इजरायलमा भएको आमहडतालले उग्र रुप लिएपछि प्रधानमन्त्री माफी माग्न बाध्य भएका हुन् । 

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार आम हडतालमा उत्रेका प्रदर्शनकारीहरुले प्रधानमन्त्री नेतान्याहु आफनै अडानमा रहने हो भने थप बन्धकको मृत्यु स्वाभाविक भन्दै तत्काल बाँकी बन्धकको रिहाइका लागि ठोस कदम चाल्न दबाब दिदै आएका छन् । गाजाको फिलाडेल्फी करिडोर आफनो कब्जामा ल्याउन इजरायली सेना लागिपरेको नेतान्याहु अभिव्यक्तिले थप मानवीय क्षति हुने भन्दै  प्रदर्शनकारी थप आक्रोशित छन् । 

सोमबार हजारौं प्रदर्शनकारीहरुले प्रधानमन्त्री नेतान्याहुविरुद्ध चर्को नाराबाजी गदै आयोजना गरिएको आम हडतालका क्रममा इजरायलको जनजीवन अस्तव्यस्त बनेको थियो । सो क्रममा प्रहरी र प्रदर्शनकारीबीच ठाउँ ठाउँमा झडप हुँदा सय जनाभन्दा बढीलाई पक्राउ परेको समाचारमा उल्लेख छ  । 

प्रतिक्रिया