बाँकेमा शरीरमा पानीको कमीले ४ जनाको मृत्यु

बाँके । बाँकेको नरैनापुरमा शरीरमा पानीको कमीले भएकाले एकै परिवारका तीन र एकजना बालकसहित चार जनाको मृत्यु भएको पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय बाँकेले  नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जनाएको हो । झाडापखालाका कारण शरीरमा पानीको मात्रा कमी हुनाले ७२ घण्टामा चार जनाको मृत्यु भएको अध्ययनले देखाएको हो । 

एकै परिवारका ७५ वर्षीय शान्ति पासी, उनकी २६ वर्षीया बुहारी उषा पासी र सोही परिवारकी एक वर्षकी नाबालिकाको क्रमशः भदौ १४, १५ र १६ गते मृत्यु भएको कार्यालयले जनाएको छ । 

ज्वरो आउने, पेट दुख्ने, टाउको दुख्ने र एकदिनमा तीनदेखि चार पटकसम्म पातलो दिसा भएकाले शरीरमा पानी अपुग हुन गई पासीको एकैघरका तीन जनाको मृत्यु भएको स्वास्थ्य कार्यालयको दाबी छ ।

यही भदौ १४ गतेदेखि फैलिएको झाडापखाला महामारीका रुपमा भने नरहेको बताइएको छ । 

प्रतिक्रिया