पर्यटन क्षेत्रको विकास र प्रवर्द्धनमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण:  मन्त्री पाण्डे

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले निजी क्षेत्रको साझेदारितालाई फराकिलो बनाउँदै पर्यटन क्षेत्रको विकास प्रवर्द्धनमा सक्रिय ढङ्गले लाग्ने बताएका छन् ।

आज यहाँ आयोजित ट्रेकिङ ऐजेन्सिज एसोसिएसन अफ नेपाल (टान)को ४६औँ वार्षिक साधरणसभामा मन्त्री पाण्डेले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रको विकास र प्रवद्र्धनका लागि निजी क्षेत्रको भूमिका अपरिहार्य रहेको बताएका छन् ।

“मन्त्रालय निजी क्षेत्रसँग सहकार्य गरेर पर्यटन क्षेत्रको विकास गर्न तत्पर छ । पर्यटन क्षेत्रको विकासका लागि निजी क्षेत्रको भूमिका महत्वपूर्ण छ”, उनले भने, “पर्यटन क्षेत्रको विकासमा नागरिक उड्डयनको क्षेत्र पनि प्रभावकारी हुनु पर्छ ।

”मन्त्री पाण्डेले नागरिक उड्डयन क्षेत्रमा विश्वास दिलाउन सकेको अवस्थामा मात्रै विदेशी पर्यटक भित्र्याउन सकिने उल्लेख गर्दै हवाई सुरक्षा अभिवृद्धिमा सरोकारवालाले ध्यान दिनुपर्ने खाँचो औँल्याएका छन् । उनले नेपालको पर्यटनको विकासमा पर्यटन विकास नीति, संस्कृति नीति र हवाई नीति परिमार्जन गर्ने काम भइरहेको जानकारी दिए ।

हवाई क्षेत्र सुरक्षित बनाउन नियामक र सेवा प्रदायक निकायलाई छुट्याउने गरी ल्याएको विधेयक अर्थबाट कानुन मन्त्रालय पुगिसकेको उनले बताए ।फरक प्रसङ्गमा मन्त्री पाण्डेले वर्तमान सरकार २०८४ सम्मै रहने विश्वास व्यक्त गरेका छन् ।

आवश्यकताअनुसार अन्य दललाई समेत साथमा लिएर अघि बढ्ने उनले भने । कार्यक्रममा पर्यटन राज्यमन्त्री अरुणकुमार चौधरीले पर्यटन क्षेत्रको विकासका लागि सरोकारवालाबीच समन्वय र सहकार्य जरुरी रहेको बताए ।

टानका अध्यक्ष नीलहरि बास्तोलाले टानलाई व्यवसायमैत्री बनाएर पदमार्गको संरक्षण प्रवद्र्धनमा जोड दिएका छन् । टानको नयाँ नेतृत्वका लागि आकाङ्क्षीहरुले प्यानल नै बनाएर चुनावी प्रतिस्पर्धा गर्ने भएका छन् ।

अध्यक्षका दुई आकाङ्क्षी राजेन्द्रप्रसाद सापकोटा र सागर पाण्डे समूहगत रुपमा नयाँ कार्यसमितिका लागि चुनावी प्रतिस्पर्धामा होमिएका हुन् ।टानका महासचिव विनोद सापकोटाका अनुसार नयाँ कार्यसमिति चयनका लागि आज दिउँसो १ बजेदेखि मतदान जारी रहेको छ ।

साँझ ६ बजेसम्म मात्र मतदान हुने भएको छ । टानको निर्वाचनमा अध्यक्ष, पदाधिकारी र सदस्य गरी कुल २५ सदस्यीय कार्यसमितिमध्ये १७ जना निर्वाचित र बाँकी सदस्य मनोनीत गर्ने व्यवस्था छ । निर्वाचनमा एक हजार तीन सय ९७ मतदाता रहेका छन् ।

रासस

प्रतिक्रिया