कार्यकर्ताहरुलाई सामन्य ज्ञान दिएर राजनितिमा लगाउन ओलीलाई बालेनको सुझाब

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन  भनेका छन् । लुम्बिनी प्रदेशकी एमाले सांसद रेखा कुमारी शर्माले आफूले गरेको कसुरमा जेल जान सक्ने सम्भावना देखेर आफू छलिन र जोगिन आफै सर्वोच्च र उच्च अदालतमा मुद्दा हाल्दै हिँडेकोमा कटाक्ष गर्दै बालेनले प्रधानमन्त्री ओलीलाइ आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउन भनेका हुन् । 
उच्च अदालतको अन्तिम फैसलामा रेखा कुमारी शर्माको निषेधाज्ञाको रिटको दाबी नपुगेकोले प्रहरीलाई अनुसन्धान गर्ने बाटो खोलेको भन्दै उनले उक्त मुद्दा हार्ने समेत बालेनले दाबी गरेका छन् । 
‘महानगरले उनीविरुद्ध हालेको मुद्दा त प्रहरीले अनुसन्धान अघि बढाएकै छैन, अदालतमा प्रवेश गरेकै छैन र हामीले उठाएको कुरा नै त्यही नै हो कि उनले गरेको कसुर बमोजिमको कसुर बमोजिमको कारबाही अघि बढ्नुपर्छ’, मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।
‘प्रधानमन्त्री खड्कप्रसाद ओलीज्यू तपाईं आफ्नो कार्यकर्ताहरूलाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनु होला । पछि यस्तै ज्ञानविहीन भएर देश चलाउने ठाउँमा पुग्दा तपाइजस्तै अरूको इशारामा चल्ने हुनुपर्ला’, प्रधानमन्त्री ओलीलाई बालेनले भनेका छन् ।

प्रतिक्रिया