सन्दीपविरुद्ध मुद्दाको फाइल उच्च सरकारी वकिल कार्यालयले महान्यायाधिवक्ताकोमा पठायो

काठमाडौं । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध जबरजस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाएको छ।  उच्च सरकारी वकिल कार्यालयले आइतबार नै फाइल महान्यायाधिवक्ताकोमा पठाएको हो । 
पीडित गौशाला २६(छ) ले आफू न्यायका लागि लड्दा सामाजिक रूपमै आक्रमणको सामना गर्नुपरेको र आफूमाथि डर, त्रास देखाउँदै हत्यासम्मका धम्की आउने गरेको भन्दै मुद्दा नचलाउन निवेदन दिएकी थिइन् । त्यसबेला उच्चका कतिपय अधिकारीले नै गौशाला २६(छ)ले ‘आफूमाथि बलात्कार नभएको, आफूले जाहेरी पनि एनजीओको दबाबमा दिएको र सन्दीप निर्दोष रहेको भन्दै निवेदन दिएको’ भनेर गलत प्रचार गरेका थिए । त्यस्तो प्रचारको नेतृत्व गर्ने अधिकारी उच्च अदालत पाटनबाट सरुवा भइसकेका छन् । 

पीडितले मुद्धा लड्न नचाहेको भन्दै निवेदन दिए पनि उच्च सरकारी वकिल कार्यालय पाटनले भने मुद्दा चलाउनुपर्ने रायसहित महान्यायाधिवक्तामा फाइल पठाएको हो । अब मुद्दा चलाउने वा नचलाउने अन्तिम निर्णय महान्यायाधिवक्ता कार्यालयले नै गर्नेछ । 

उनको निवेदनलाई पनि साथै राख्दै लामिछानेविरुद्ध एक तहमाथि (सर्वोच्च) जानुपर्ने आधारहरू रहेको दाबी उच्च सरकारी वकिल कार्यालयले गरेको छ।  यदि महान्यायाधीवक्ताले सर्वोच्चमा दर्ता गर्ने निर्णय गरे भने उनी विरुद्ध सर्वोच्चमा मुद्दा विचाराधीन हुनेछ ।

पीडित गौशाला २६ को जाहेरीमा काठमाडौं जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर गर्दै आठ वर्ष कैद र तीन लाख जरिवाना हुने फैसला गरेको थियो । गत पुस २५ मा भएको उक्त फैसलामा पीडितलाई थप दुई लाख क्षतिपूर्ति हुने भनिएको थियो । तर, पुनरावेदन गएका सन्दीपलाई उच्च अदालत पाटनले सफाइ दिएको थियो । 

 

प्रतिक्रिया