कुशे औँसी : आज देवघाटमा मेला

काठमाडौं । कुशे औँसी अर्थात बुवाको मुख हर्ने पर्वका दिन आज पवित्र स्थल देवघाटमा मेला लागेको छ ।

 त्रिशुली र कालीगण्डकीको संगमस्थान बेणीमा स्नान गरी दिवङ्गत पिता एवं समग्र पितृको नाममा तर्पण दिनेको घुइँचो लागेको हो । 

पिताको देहावसान भइसकेकाहरूले पितृमुक्तिको कामना गर्दै औंसीको अघिल्लो दिन एक छाक मात्र सात्विक भोजन गर्ने र औंसीको दिन बिहानै बुवाको तस्बिर हेरेर अथवा विभिन्न शक्तिपीठ, देवालय, संगमस्थलआदि तीर्थमा गएर स्नान गर्ने परम्परा छ । आजको दिन देवघाटमा पितृ–पितामह–प्रपितामहलगायत पितृलाई तर्पण गर्ने, पिण्डदान गर्ने र ब्राह्मणहरूलाई दानदक्षिणा दिने प्रचाल रहेको छ ।

बाबु परलोक भइसकेकाहरूले देवघाट लगायतका तीर्थस्थलमा गई तर्पण, दानदक्षिणा गरेमा पुण्य मिल्नुका साथै आफ्नो वंशमा सुखसन्तति वृद्धि हुने धर्मग्रन्थमा उल्लेख छ । त्यसैले आजको दिन पितृश्राद्ध गरे पितृहरूको मोक्ष हुने र पितृको आशिष लाग्ने शास्त्रीय मान्यताका आधारमा सर्वसाधारण देवघाट पुग्ने गर्दछन् ।

प्रतिक्रिया