किसानको बाँकी रकम भुक्तानी हुनेगरि संस्थानलाई ६० करोड रूपैयाँ ऋण दिन अर्थको सहमति

काठमाडौ । अर्थ मन्त्रालयले निश्चित सर्तसहित दूग्ध विकास संस्थान (डीडीसी) ६० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न कृषि तथा पशुपन्छि विकास मन्त्रालयलाई सहमति दिएको छ । संस्थानले यो रकम तत्कालका लागि किसानहरूलाई दूधको बाँकी रकम भुक्तानीमा प्रयोग गर्न सक्नेछ ।

चालु आर्थिक वर्षका लागि संस्थानको नाममा ऋण लगानीअन्तर्गत १ करोड रुपैयाँ बजेट व्यवस्था भएकोमा कृषि मन्त्रालयमा विनियोजित रकमबाट थप ५९ करोड रुपैयाँ रकमान्तर गरी कूल ६० करोड ऋण लगानी गर्ने गरी मन्त्रिपरिषदमा प्रस्ताव पेस गर्न सहमति दिइएको हो । यससम्बन्धी प्रस्ताव मन्त्रिपरिषदबाट स्वीकृत भएपछि सरकारले संस्थानमा ऋणको रूपमा लगानी गर्नेछ ।

संस्थानबाट दूधको भुक्तानी नपाएको भन्दै किसानहरूले भुक्तानीका लागि माग गर्दै आएका छन् । किसानलाई दूधको बाँकी रकम भुक्तानी गर्ने विषयमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, कृषिमन्त्री रामनाथ अधिकारी र संस्थानका अधिकारीबीच पटक-पटक छलफल भएको थियो ।

प्रतिक्रिया