नारायणगढ–बुटवल सडकको काम एक वर्षमा सक्नेगरी सरकार लागेको छः देवेन्द्र दाहाल

चितवन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नारायणगढ–बुटवल सडकको काम चाँडो सक्नेगरी सरकार अघि बढेको बताएका छन् ।  प्रेस चौतारी नेपाल चितवन शाखाले सोमबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले एक वर्षभित्र काम सम्पन्न गर्नेगरी सरकार अघि बढेको बताए । 

मन्त्री दाहालले एक वर्षभित्र काम सक्ने गरी निर्माण कम्पनीसँग सहमति भएकाले सोहीअनुसार काम हुने विश्वास व्यक्त गरे ।

मुख्य राजमार्गका रूपमा रहेको यो सडक निर्माणका लागि नेपाल सरकारका तर्फबाट कुनै समस्या नभएको भन्दै मन्त्री दाहालले भने “सरकारका तर्फबाट उनीहरुरूलाई दिनुपर्ने भुक्तानी रोकिएको छैन, दिइरहेको अवस्था छ । काम चाँडो सक्नका लागि ठेकेदार कम्पनीसँग बारम्बार छलफल भइरहेकाले अब प्रगति हुन्छ ।” उनले बर्सात सकिएपछि कामको गति हेरिने र कामको गति बढाउन नसके सरकारले ठेकेदारको विकल्प खोज्ने प्रष्ट पारे  । 

यसैगरी उनले सरकारले क्युआर कोडसहितको लाइसेन्स जारी गर्ने तयारी गरिरहेको जानकारी दिए । लाइसेन्स वितरणको जिम्मेवारी प्रदेश सरकारको रहेको भन्दै  दाहालले २० लाख लाइसेन्स बन्ने प्रक्रियामा रहेका र पाँच लाख लाइसेन्स बनिसकेको बताए  । मन्त्री दाहालले सङ्घीय, प्रदेश र स्थानीय सरकारले के—के काम गर्ने भन्ने स्पष्ट भएकाले यातायात क्षेत्रमा देखिएका समस्या समाधान हुँदै जाने धारणा राखे । 

मन्त्रालयका सचिव केशवकुमार शर्माले रेलमार्गको अध्ययनका लागि बर्सात सकिएपछि काम सुरु हुने बताए । रेलमार्गको रेखाङ्कन भए पनि बैङ्कले ऋण प्रवाह नगर्ने, जग्गा खरिद बिक्री नहुनेजस्ता समस्याका कारण स्थानीय आक्रोशित भइरहेको सुनाए । सचिव शर्माले स्थानीयको मागलाई सम्बोधन गरेर मात्र मन्त्रालयलले रेलमार्ग निर्माण गर्ने बताए । 

रासस 
 

प्रतिक्रिया