इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारविरुद्ध बृहत प्रदर्शन

एजेन्सी । इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सरकारविरुद्ध बृहत प्रदर्शन भएको छ ।

गाजामा बन्धक बनाएका ६ जनाको शव फेला परेपछि थप बन्धक रिहा गर्न माग गर्दै प्रदर्शन भएको हो । प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको सरकारले बन्धकहरूलाई रिहा गर्न हमाससँग सम्झौता गर्नुपर्ने प्रदर्शनकारीको माग छ । 

तेल अभिभ, जेरुसेलम र अन्य धेरै सहरमा इजरायली झण्डा बोकेर प्रदर्शनकारीहरू सडकमा निस्किएका हुन । जेरुसेलममा प्रधानमन्त्रीको कार्यालयबाहिर, तेल अवीव र अन्य सहर लगायत करिब ५ लाख मानिसहरु जम्मा भई प्रदर्शन गरेका हुन् ।आइतबार शान्तिपूर्ण रूपमा आन्दोलन सुरु भएपनि भीडले प्रहरी अवरोध तोडेर राजमार्ग अबरुद्ध गर्नुका साथै टायर बालेर प्रदर्शन गरेको छ । इजरायलको ट्रेड युनियनले आज का लागि देशव्यापी हडतालको घोषणा गरेको छ ।

 बन्धक तथा बेपत्ता परिवार मञ्चले सबै नागरिकलाई हड्ताल सफल बनाउन सहयोग गर्न अपिल गरेको छ । तेल अभिभका मेयर रान हुलदाईले आम हड्तालको समर्थन गर्दै प्रदर्शनमा सहभागी हुने बताएका छन् । हमासले बन्धक बनाएका मध्य ६ जनाको शव आइतबार बरामद भएपछि अरु बन्धकको अवस्था सार्वजनिक गर्न र उनीहरुलाई जतिसक्दो छिटो रिहाइका लागि पहल गर्न नागरिकहरुले प्रदर्शन शुरु गरेका हुन् ।

इजरायलका रक्षामन्त्री योभ ग्लान्टले प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई हमाससँग युद्धविराम सम्झौता गर्न वार्ता गर्न आग्रह गरेका छन् । ६ इजरायली बन्धक मारिएपछि नेतान्याहुले इजरायलले मृत्युका लागि जिम्मेवार व्यक्तिलाई पक्राउ नगरेसम्म आराम नगर्ने बताएका छन्। हमासको नियन्त्रणमा अझै १ सय १ बन्धक रहेको र तीमध्ये कम्तिमा २७ जनाको मृत्यु भइसकेको अनुमान छ ।

प्रतिक्रिया