एमालेबाट गण्डकीमा चार मन्त्री बन्दै

काठमाडौं । गण्डकी सरकारमा एमाले सहभागी हुने भएको छ । साेमबार एमालेबाट पद्मा जिसी श्रेष्ठ, मित्रलाल बस्याल, कृष्ण पाठक, प्रकाश केसी मन्त्री बन्ने लगभग निश्चित भएको हो । मुख्यमन्त्री कार्यालयका अनुसार साेमबार दिउँसो १ बजे उनीहरूको शपथ छ ।

पदमा जिसी श्रेष्ठ नवलपुर, मित्रलाल बस्याल पर्वत, कृष्ण पाठक बाग्लुङ, प्रकाश केसी कास्कीका हुन् । जिसी र बस्याल प्रत्यक्ष निर्वाचित सांसद हुन् भने पाठक र केसी समानुपातिक सांसद हुन । गण्डकीमा आइतबारको मन्त्रिपरिषद् बैठकले मन्त्रालय संख्या ७ बाट ९ पुर्‍याएको छ । सामाजिक विकास तथा स्वास्थ्य, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय टुक्राइएको छ । गण्डकी प्रदेशमा हाल मुख्यमन्त्रीसहित पाँच जना मन्त्री छन् । 

भागबण्डा गर्दा कांग्रेसले ५ र एमालेले ४ मन्त्रालय पाएका थिए । कांग्रेसले आफ्नो भागबाट नेसपाका फणीन्द्र देवकोटा र स्वतन्त्र सांसद राजीव गुरूङलाई मन्त्री बनाएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफूलाई विश्वासको मत दिएका दुवैलाई नहटाउने अडान लिएपछि नयाँ गठबन्धनमा पनि उनीहरू यथावत रहेका हुन् ।
 

प्रतिक्रिया