काठमाडौँ महानगरद्वारा २५ अर्ब ५४ करोड रुपैयाँ बराबरको बजेट सार्वजनिक

काठमाडौं महानगरपालिकाले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट ल्याएको छ । आज नगर सभाको बैठकमा महानगररकी उपप्रमुख सुनीता डंगोलले आर्थिक वर्ष २०८०/८१ का लागि २५ अर्ब ५४ करोड ७८ लाख २० हजार रूपैयाँको बजेट सार्वजनिक गरेकी हुन् । उनका अनुसार चालु तर्फ कुल बजेटको ३३.७२ र पुँजीगत तर्फ ६६.२८ प्रतिशत बजेट छुट्याइएको छ । जसअनुसार चालुतर्फ ८ अर्ब ६१ करोड ५३ लाख २८ हजार र पुँजीगत तर्फ १६ अर्ब ९३ करोड २४ लाख ९२ हजार रूपैयाँ विनियोजन गरिएको छ । बजेटको स्रोतमा बैंक मौज्दात, संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान, आन्तरिक आय, राजस्व बाँडफाँटलगायतलाई लिएको छ । महानगरको बैंक मौज्दान ११ अर्ब ७५ करोड रूपैयाँ रहेको जानकारी दिएकी उपप्रमुख डंगोलले संघीय सरकार र प्रदेश सरकारको सशर्त अनुदान १ अर्ब ४५ करोड ६२ लाख, निशर्त अनुदान ८९ करोड ३६ लाख, आन्तरिक आय ६ अर्ब ३९ करोड, राजस्व बाँडफाँटबाट २ अर्ब १६ करोड रूपैयाँ र सामाजिक सुरक्षा र जग्गा एकीकरणबाट २ अर्ब रूपैयाँ प्राप्त हुने बताइन् । महानगरले सबैभन्दा धेरै शिक्षा र स्वास्थ्य क्षेत्रका लागि बजेट विनियोजन गरेको छ । महानगरपालिका क्षेत्रभित्रका सार्वजनिक सडकहरुमा पार्किङ संचालन गर्न नपाइने भएको छ । यस्तै महानगर आफैंले पार्किङ शुल्क समेत अशुल गर्ने र पार्किङ शुल्क तोक्न सक्ने बजेटमार्फत महानगरले जनाएको हो ।

प्रतिक्रिया