माओवादी पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु: अध्यक्ष दाहाल
बाँके । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीलाई २०६४ सालकै अवस्थामा ल्याउने अभियान सुरु गरेको बताएका छन् ।
माओवादी केन्द्र बाँकेद्वारा आज यहाँ आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उहाँले आफ्नो पार्टी नेतृत्वको सरकारले जनहितमा गरेका कामले जनतामा माओवादी केन्द्रप्रति विश्वास बढाउने काम गरेको उल्लेख गरेका छन् ।
अध्यक्ष दाहालले २०६४ सालमा माओवादीलाई नेपाली जनताले ठूलो विश्वास गरेर समर्थन गरेको तर पार्टीभित्र देखिएका विभिन्न विकृति र जनताबाट टाढिने प्रवृत्तिले गर्दा जनसमर्थन घटेको बताए। आफ्नो नेतृत्वको सरकारले छोटो समयमा भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्याय तथा विकासका लागि धेरै उदाहरणीय काम गरेकाले पार्टीप्रति जनतामा फेरी विश्वास र समर्थन बढ्दै गएको अध्यक्ष दाहालले बताएका छन् ।
अध्यक्ष दाहालले सुशासनसँगै सामाजिक न्यायको क्षेत्रमा मिटरब्याजको समस्या समाधान गरिएको, हजारौँ नागरिकताविहीनले नागरिकता पाउने व्यवस्था मिलाइएको र देशबाहिर तथा देशभित्र रहेका लाखौँ श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गरेर नयाँ आशा जागृत गरिएको दाहालले बताए ।
अध्यक्ष दाहालले बाँके मधेशी, मुस्लिम र थारु बाहुल्य जिल्ला भएकाले पार्टीको कार्यकारी भूमिकामा मधेशी, मुस्लिम र थारु समुदायका अगुवालाई स्थापित गर्न जिल्ला नेतृत्व तथा केन्द्रबाट खटिएका नेतालाई निर्देशन दिएका छन् ।
प्रशिक्षण कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटा, नेतृ पूर्णाकुमारी सुवेदी र पम्फा भुषाल, लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री कुलबहादुर केसी, पार्टीका नेता बलदेव शर्मा, महेश्वर गहतराज लगायतको उपस्थिति रहेको छ ।
रासस
प्रतिक्रिया