गण्डकी प्रदेशमा अब नौ मन्त्रालय

गण्डकी । गण्डकी प्रदेशमा मन्त्रालय विभाजन गरेर नौ वटा बनाइएको छ । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आज बसेको मन्त्रिपरिषद् बैठकले नौवटा मन्त्रालय बनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)बीचको सहमतिअनुसार नौवटा मन्त्रालय बनाइएको जानकारी दिनुहुँदै उनले सङ्घीय गठबन्धनअनुुसार नै अघि बढेको बताए।

मुख्यमन्त्री पाण्डेकानुुसार नौवटा मन्त्रालयमध्ये कांग्रेसले पाँच र एमाले चार मन्त्रालय लिनेछन् । प्रदेशमा उद्योग, पर्यटन, वन तथा वातावरण र सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय विभाजन गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री पाण्डेले वातावरण मन्त्रालय र स्वास्थ्य मन्त्रालयअन्तर्गत यसअघि दुई/दुुईवटा सङ्गठन संरचना रहेकाले सोहीअनुसार विभाजन गरिएको बताए ।

“यी मन्त्रालय एउटै भए पनि सङ्गठन संरचना दुईवटा थिए र सचिव पनि अलग अलग थिए । त्यसलाई अलग अलग गरेर नौवटा मन्त्रालय कायम गर्ने निर्णय गरेका छौँ”, उनले भने ।

अब चाँडै नै एमालेका तर्फबाट चारजना मन्त्रिपरिषद्मा समावेश हुने र सङ्घीय गठबन्धनअनुसार गठबन्धन अघि बढिने मुख्यमन्त्री पाण्डेले जानकारी दिए ।  

रासस

प्रतिक्रिया