भरतपुरमा ६ अर्व ३१ करोड ७९ लाख ९० हजारको अनुमानित बजेट सार्वजनिक
भरतपुर महानगरले आगामी आर्थिक बर्षका लागि ६ अर्व ३१ करोड ७९ लाख नब्बे हजारको अनुमानित बजेट ल्याएको छ । संघ र प्रदेशले बजेट घटाएर ल्याएपनि भरतपुरले चालू आव भन्दा करिव ११ करोड बढीको बजेट ल्याएको हो । आन्तरिक आय १ अर्व ७५ करोड,अन्तर सरकारी बित्तीय हस्तान्तरणबाट एक अर्व ८३ करोड ९९ लाख ७५ हजार केन्द्र तथा प्रदेश सरकारको राजश्व वाँडफाडबाट ५४ करोड ८० लाख १५ हजार ,जनसहभागिताबाट ५० करोड,बैक मौज्दात एक अर्व ६५ करोड र सडक वोर्ड नेपालबाट तीन करोड प्राप्त हुने प्रक्षेपण महानगरको छ । कृषि तथा पशु बिकास कार्यक्रम, हरियाली प्रबद्र्धन, उज्यालो नगर, व्यवस्थित र दिगो पुर्वाधार बिकासका लागि मेगा ढल निकासको कार्यक्रमलाई आफ्नो प्राथमिकतामा राखेको छ । साथै हरित उर्जाको खपत,पेट्रोलियम पदार्थको बचत नाराका साथ बिद्युतीय सवारी साधनलाई प्रवर्दन गर्ने नीति लिएको छ । महानगरले अवदेखि बिद्युत्तिय सवारी साधन मात्रै खरिद गर्ने र विभिन्न स्थानमा चार्जिङ स्टेसन बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । भरतपुरले अंग्रेजी बर्ष सन् २०२४ लाई भरतपुर भ्रमण बर्ष मनाउने नीति तथा कार्यक्रममा उल्लेख्य गरिएको छ । एक वडा एक गौरवको आयोजना संचालन गरिने गरि महानगरले नीति तथा बजेट ल्याएको छ । कार्यक्रममा भरतपुर महानगर प्रमुख रेनु दाहालले यसअघि सुरु गरिएका कामलाई पुरा गर्ने प्रतिबद्धता जनाइन । भरतपुर महानगरले बिगत ६ बर्षमा ६ सय ४८ किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण गरेको छ भने ४ सय ६० किलोमिटर सडक ग्राभेल गरेको जनाएको छ । शिक्षा,स्वास्थ ,कृषिर पर्यटनका पनि दर्जनौं योजना सफल भएका छन् । यसका साथै प्रदेश र संघीय सरकारको समेत समन्वयमा आधा दर्जन बढी ठूला योजना निर्माणाधीन छन् । एक बर्षभित्रमा सिटि हल निर्माण, छ लेन सडकको पूर्णता, वाईपास सडक निर्माण र व्युटिफिकेसन, रिङ्ग रोड र लिङ्क रोडलाई पुर्णता दिने महानगरले जनाएको छ । साथै सन् २०२४ लाई बिकास हेर्न भरतपुर जाऔ भन्ने नाराका साथ भरतपुर भ्रमण बर्ष मनाउने तयारी पनि भरतपुरले गरेको छ ।।
प्रतिक्रिया