मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक, यस्ता छन् निर्णयहरु

काठमाडौँ । सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकका निर्णय सार्वजनिक गरेका छन् । बैठकले दिनेश डिसीलाई चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्त गरेको छ । त्यस्तै  एकनारायण अर्याललाई मुख्य सचिवमा नियुक्ति गर्ने बठकले निर्णय गरेको छ । 

आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले चलचित्र विकास बोर्डको अध्यक्षमा नियुक्ति भएका डिसीलाई  सोमबार बिहान बोर्डमा पदभार ग्रहण तथा बधाई कार्यक्रम रहेको जनाएको  छ । 
मन्त्रिपरिषद् बैठकले ज्यान मार्ने उद्योग मुद्दाको पीडित बिन्धवासीनी कंसकारको उपचारमा खर्च भएको रकममध्ये फैसला बमोजिम मासिक क्षतिपूर्ति रकम उपलब्ध गराउने र उक्त रकम प्रतिवादीबाट असुलउपर गरी पीडित राहत कोषमा उपलब्ध गराउन व्यवस्था मिलाउने पनि निर्णय गरेको  छ । 
 
यस्तै बैठकले बहुक्षेत्रीय  घोषणा पोषण योजना सहायता कार्यक्रम तेस्रो चरण कार्यान्वयनका लागि युरोपियन युनियनबाट प्राप्त हुने २३ मिलियन युरो र युनिसेफबाट  प्राप्त हुने २ मिलियन युरो  गरी जम्मा २५ मिलियन युरो करिब तीन अर्ब ६७ करोड ४७ लाख बराबरको अनुदान सहायता सूचिकृत गर्ने निर्णय गरेको छ । 

त्यस्तै बैठकले एनसेलको नवीकरण दस्तुर प्रत्येक वर्ष ५ अर्बका दरले चार किस्तामा विभाजन गरि भुक्तानी गर्ने सुविधा दिने निर्णय गर्दै एकै पटक नवीकरण दस्तुर नबुझाई किस्ता सुविधा लिएमा पहिलो किस्ता बाहेकको किस्ता भुक्तानी गर्दा बाँकी किस्ताबापतको जम्मा रकममा किस्ता भुक्तानी गरेको मितिसम्म वार्षिक १० प्रतिशतका दरले व्याज र किस्ता रकमसमेत लिने निर्णय गरेको छ ।

त्यस्तै बैठकले तराई मधेश फास्ट ट्रयाक सडक आयोजनाको लाग अधिग्रहण गर्न बाँकी जग्गामा मुआव्जामा लाग्ने पूजीगत लाभकर छुट दिन स्वीकृति दिने निर्णय गरेको छ । 

  

प्रतिक्रिया