विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्वः मन्त्री दाहाल

लुम्बिनी । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकास र समृद्धिका लागि शान्ति र राजनीतिक स्थायित्व आवश्यक भएको बताएका  छन् ।

प्रेस चौतारी नेपाल, रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाटमा उहाँले विकास र समृद्धिकै लागि राजनीतिक स्थिरता दिन संसद्का दुई ठूला दल मिलेर सरकार निर्माण गरेको बताए ।

“दुई ठूला दल मिलेर सरकार गठन भएको हुँदा सरकार कसरी टिकाउने भन्ने चिन्ता हामीलाई छैन”, उनले भने, “अब विकास र समृद्धिका लागि जनचाहनाअनुसार ध्यान केन्द्रित गरेका छौँ ।

”मन्त्री दाहालले सरकारमा जो आए पनि उस्तै हो भन्ने जनतामा रहेको धारणालाई तोड्ने गरी सरकारले विकास निर्माणलाई प्राथमिकताका साथ अघि बढाएको बताएका छन्। “सरकारमा जो आए पनि उस्तै त हो, भन्ने मनोविज्ञान बनाउने प्रयास पनि गरिएको छ ।

अब यसलाई वर्तमान सरकारले तोड्नु छ”, उनले भने, “जनताको चाहना विकास निर्माण हो, सरकारले ‘समृद्ध नेपाल, सुखी नेपाली’ को नारा पूरा गर्नेगरी काम अघि बढाएको छ ।”मन्त्री दाहालले सरकारले एक महिनाभित्र पुराना योजनाको बक्यौता रकम भुक्तानगरी निर्माणलाई आगामी महिनादेखि तीव्रता दिने बताए ।

उनले राजश्व सङ्कलनमा कमी आएका कारण पुराना योजनाहरुको भुक्तानीमा केही समस्या भएपनि ती समस्या हल गर्न प्रधानमन्त्री केपी शर्मा ओली तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलबाट प्रतिबद्धताहरु आएको र सोहीअनुसार काम अघि बढेकाले स्पष्ट पारे  । 

सरकारले नयाँ योजनालाई अघि बढाउनेभन्दा पनि पुराना योजनालाई सम्पन्न गर्नेतर्फ ध्यान केन्द्रित भएको भन्दै मन्त्री दाहालले असोजपछि निर्माण कार्यलाई तीव्रताकासाथ अघि बढाइने बताएका छन् ।

बुटवल–पाल्पा सडक खण्डअन्तर्गत निर्माणाधिन सिद्धबाबा सुरुङमार्गको कार्यप्रगतिबारे जानकारी लिएपछि मन्त्री दाहालले अबको एक सय दिनभित्रै ‘ब्रेक थ्रु’ हुनेगरी तीव्र्रता दिन निर्देश गरिएको बताए ।

यसैगरी बुटवल–नारायणगढ सडक विस्तारमा भएको ढिला सुस्तीबारे निर्माण कम्पनीसँग छलफल गरिएको जानकारी गराउँदै उनले निर्माण कम्पनीले विभिन्न समस्या देखाएर सरकार समक्ष समय थपको प्रस्ताव ल्याएको भए पनि उक्त समस्या सरकारका कारणले नभई स्वयं निर्माण कम्पनीका कारण भएको हुँदा कुनै पनि हालतमा छुट दिन नसकिने मन्त्री दाहालले बताए ।

रासस

प्रतिक्रिया