तीज मेलामा महिला उद्यमीका सामग्री प्रबर्द्धन

बाँके । नेपालगञ्जमा आयोजित सिद्धार्थ तीज मेलामा महिला उद्यमीले उत्पादन गरेका सामग्रीको किनबेच भएको छ । यही भदौ १४ गतेदेखि १६ गतेसम्म आयोजित मेलाले महिला उद्यमीद्वारा उत्पादित वस्तु र उपभोक्तासँग प्रत्यक्षरुपमा परिचित गराउनुका साथै बिक्री वितरणमा सहयोग पुगेको नेपालगञ्जकी महिला उद्यमी रचना श्रेष्ठले बताइन् ।

“प्रचारप्रसारको अभावमा कैयौँ महिला उद्यमीले उत्पादन गरेका सामग्रीले बजार पाउन सकेका छैनन्”, उनिले भनिन, “यो तीज मेलाले केही हदसम्म महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण र प्रचारप्रसार गर्नुका साथै महिला उद्यमीमा उत्साह थपेको छ ।

”मेलामा निःशुल्क प्रवेश तथा अवोलकन, तीज विशेष हस्तकला, बुटिक र मेहेन्दीका स्टल, पाल्पाको चर्चित बटुक तथा चुकाउनीसहित अन्य स्थानीय परिकार राखिएको छ ।

तीजको अवसरमा महिलाले उत्पादन गरेका सामग्रीको बजारीकरण र प्रचारप्रसार गरेर महिला उद्यमीमा उत्साह थप्ने उद्देश्यका साथ तीज मेला आयोजना गरिएको कार्यक्रम संयोजक दामोदर केसीले बताए ।

उद्यमशील महिलालाई प्रेरित गर्न, तीज गीतको माध्यमबाट महिलालाई उद्यमी बन्न सन्देश दिन र तीव पर्वको मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले तीनदिने मेलाको आयोजना गरिएको उनले भने ।

मेलामा २० वटा प्रदर्शनी कक्षमध्ये १४ वटामा महिला उद्यमीले उत्पादन गरेका उत्पादन राखिएका छन् । महिला उद्यमीद्वारा उत्पादित वस्तुको प्रचारप्रसार र प्रवद्र्धन गर्दै महिला उद्यमीबीच स्वस्थ प्रतिस्पर्धात्मक वातावरण सृजना गरी लगानी आकर्षित गर्ने अपेक्षा गरिएको केसीले जानकारी दिए ।

दिउँसो २ बजेदेखि राति ८ बजेसम्म सञ्चालन हुने मेलामा मनोरञ्जनात्मक, सांस्कृतिक नृत्य तथा गीत सङ्गीत प्रस्तुत हुने गरेको कार्यक्रम संयोजक केसीले बताए ।

बाँकेमा विगत १८ वर्षदेखि महिला उद्यमी सङ्घका नाममा महिला उद्यमी सङ्गठित हुँदै आएका छन् ।

 रासस

प्रतिक्रिया