साउनयता ७८ जनामा स्क्रबटाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ ।

तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो ।जिल्लास्थित जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य अधिकृत बिमल पटेलले भने  सङ्क्रमितमध्ये ३३ चितवनका र ४५ जना जिल्ला बाहिरका छन् ।

गत आर्थिक वर्षमा सात सय ६२ को परीक्षण गर्दा दुई सय ४८ जनामा स्क्रबटाइफस देखिएको छ ।“स्क्रबटाइफस सङ्क्रमण मुसाको कानमा वा अन्य जीवजन्तुमा हुने सङ्क्रमित किर्नाले मानिसलाई टोकेपछि सर्ने गर्दछ ।

स्क्रबटाइफस भएमा मानिसलाई उच्च ज्वरो आउनु, आँखा रातो हुनु, खोकी, वान्ता, पेट दुखाइ र पखालाले सताउनु, सास फेर्न समस्या हुनु, धेरै टाउको दुख्नु, जोर्नी र मांसपेशी दुख्नु, बिमिरा देखिनु, टोकेको ठाउँमा कहिलेकाहीँ कालो दागजस्ता लक्षण देखिने गर्दछ”, जनस्वास्थ्य अधिकृत पटेलले भने ।

यसको सङ्क्रमणबाट बच्न खेत, झाडी वा वनजङ्गलमा जाँदा लामो बाहुला भएका कपडा र उपयुक्त जुत्ता लगाउने, शरीरको खुला भागमा कीटनाशक मलमको प्रयोग गर्ने, घर वरिपरिका खेताबारीमा घाँस बढ्न नदिने र वातावरण सफा राख्ने, मुसा नियन्त्रणका लागि उपयुक्त किसिमले अन्न भण्डारण गर्नुपर्ने पटेलले बताए ।

रासस

प्रतिक्रिया