गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने ४४ व्यापारीविरुद्ध मुद्दा

बागमती । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाले आर्थिक वर्ष २०८०-८१ मा ४४ व्यवसायीविरुद्ध मुद्दा दायर गरेको छ । 

सो कार्यालय र मातहतका विभिन्न डिभिजन कार्यालयबाट सो आर्थिक वर्षमा गरिएको अनुगमन तथा सङ्कलित नमूनाको परीक्षणबाट देखिएको कैफियताका आधारमा मकवानपुरका सात, काठमाडौंका २४, चितवनका पाँच र धुलिखेलका आठ गरी ४४  व्यवसायीविरुद्ध खाद्य स्वच्छता तथा गुणस्तर ऐनअन्तर्गत मुद्दा दायर गरेको हो ।
 
अनुगमनका क्रममा सङ्कलन गरिएको नमूना परीक्षणका क्रममा स्वास्थ्य प्रतिकूल हुनेगरी मिसावट गर्ने, म्याद गुज्रेको सामान बिक्री गर्ने ३२ व्यवसायीविरुद्ध सम्बन्धित जिल्लाको जिल्ला अदालत र १२ जनाविरुद्ध जिल्ला प्रशासन कार्यालयमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका प्रमुख काशीनाथ घिमिरेले जानकारी दिए ।

उक्त आर्थिक वर्षमा सो कार्यालयले ऐन, नियमबमोजिम सङ्कलित तीन ५०, अनुज्ञापत्र तथा नवीकरण गर्न सङ्कलित दुई हजार ७४, अनुरोधात्मक नमूना एक सय ५२ र खाद्य स्वच्छता सर्भिलेन्सका लागि एक सय ६२ गरी दुई हजार सात ३८ नमूना विश्लेषण गरिएको प्रमुख घिमिरेले बताए । 

नमूना विश्लेषण गर्दा प्रतिकूल आएका ८५ नमूनाहरूलाई नियामनुसार कानूनी प्रक्रिया अघि बढाउने, पुनः जाँच गराई मापदण्डअनुरुप सुधार गर्न लगाउने तथा व्यवसायीलाई सजग गराई प्रतिबद्धता गर्न लगाइएको प्रमुख घिमिरेको भनाइ छ ।
 
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवन र सिन्धुली तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाका खाद्य निरीक्षकहरूबाट आर्थिक वर्ष २०८०–८१ मा नमूना विश्लेषण प्रयोजनका लागि सङ्कलित तीन सय नौवटा नमूना प्रयोगशाला विश्लेषणका क्रममा नौवटा नमूना प्रतिकूल पाइएकाले प्रतिकूल पाइएका ती नमूनाउपर थप अनुसन्धान अघि बढाइएको प्रमुख घिमिरेले बताए ।
 
सो अवधिमा गरिएको अनुगमन, निरीक्षण तथा न्यायिक निकायबाट फैसला कार्यान्वयनका क्रममा उपभोग्य अवधि समाप्त भएका, लेवल विवरण नभएका, सडेगलेका लगायत अखाद्य भएका ११ लाख २० हजार सात सय ४६ मूल्य बराबरको वस्तु जफत गरी सरोकारबालाको रोहबरमा नष्ट गरिएको प्रमुख घिमिरेको भनाइ छ । 

यस्तै, सो कार्यालयले उक्त आर्थिक वर्षमा उद्योग स्थापनाका लागि ८६ खाद्य उद्योगलाई सिफारिस तथा ६० खाद्य तथा दाना उद्योगलाई अनुज्ञापत्र जारी गरी कुल तीन सय ११ उद्योगलाई सेवा उपलब्ध गराएको जनाएको छ ।
 
होटल तथा रेष्टुरेन्टको स्तरीकरण गर्न जनप्रतिनिधि, होटल व्यवसायी तथा सञ्चारकर्मीको रोहबरमा मुग्लिन, सौरहालगायतका स्थानमा सञ्चालित ४२ वटा होटल तथा रेष्टुरेन्टलाई स्तरीकरण तथा लोगो वितरण गरिएको छ । सो कार्यालयले उक्त आर्थिक वर्षमा विभिन्न शीर्षकमा २२ लाख ३२ हजार नौ सय ६० राजस्व सङ्कलन गरेको कार्यालय प्रमुख घिमिरेले जानकारी दिए ।
रासस  

प्रतिक्रिया