कांग्रेस केन्द्रीय समिति बैठक बस्दै,महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गर्ने

काठमाडौं ।  नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदनका कारण रोकिएको कांग्रेसको केन्द्रीय समिति बैठक आइतबार बस्ने भएको हो । 

नेपाली कांग्रेसका शीर्ष नेताहरूको शनिबारको बैठकले महामन्त्री थापाको प्रतिवेदन परिमार्जनसहित आइतबार बस्ने केन्द्रीय समिति बैठकमा पेश गर्ने निर्णय गरेको छ । शनिबार सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा बसेको पदाधिकरी र पूर्वपदाधिकारीहरुको बैठकले महामन्त्री थापाको प्रतिवेदनलाई आइतबार पदाधिकारी बैठकले अन्तिम रुप दिएर केन्द्रीय समितिमा पेस गर्ने निर्णय गरेको छ । 

अर्का महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने अहिलेलाई यथावत राखिने भएको छ । शर्माको प्रतिवेदनमा संविधान संशोधनसँग सम्वन्धित कुरा भएकाले संविधान संशोधनको कुरा उठेका बेला छलफल गरिने नेताहरुले जनाएका छन् । 

केन्द्रीय समिति बैठक दिउँसो ३ बजे बस्नेछ । सभापति शेरबहादुर देउवा, दुई उपसभापति पूर्णबहादुर खड्का र धनराज गुरुङ र दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले धारणा राखेपछि निर्णयहरु पारित गर्दै बैठक सकिने बताइएको छ । 

प्रतिक्रिया