समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्छ : प्रकाशशरण महत

बागमती  । नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले समानुपातिक समावेशी व्यवस्थाको मर्म नमर्ने गरी संविधान संशोधन गर्नुपर्ने बताएका छन् । 

जय नेपाल फाउण्डेशनले शनिबार मकवानपुरको हेटौँडामा आयोजना गरेको ‘राजनीति नेतृत्वको सबक–युवा लक्षित आगामी दशक’ विषयक विचार गोष्ठीमा उनले महिला, मधेशी, आदिवासी जनजाति, दलितलगायत वर्ग तथा समुदायको समानुपातिक समावेशी प्रतिनिधित्वलाई प्रत्यक्ष निर्वाचन विधिबाट सुनिश्चित गरी संविधान संशोधन गर्न सकिने धारणा राखे ।

चुनौती स्वीकार गरेरै नेपाल कम्युनिष्ट पार्टी (एमाले) सँग पार्टीले सरकार गठनका लागि गठबन्धन गरेको प्रवक्ता डा. महतको स्पष्टोक्ति थियो । ‘‘तेस्रो दल भए पनि हामीले सरकारको नेतृत्व गर्न माओवादीलाई दिएकै हो, स्थिरता कायम हुन सकेन । त्यसैले कांग्रेसले एमालेसँग सहकार्य गर्न पुग्यो । यो सहकार्य कम चुनौतीपूर्ण छैन भन्ने कुरामा हामी प्रष्ट छौँ”, उनको भनाई थियो । 
 
नेपाली कांग्रेस बागमती प्रदेशका सभापति तथा बागमती प्रदेशसभा सदस्य इन्द्रबहादुर बानियाँले व्यवस्था मात्र फेरिएकाले अब जनताको अवस्था फेर्ने गरी तीनै तहका सरकारले काम गर्नुपर्ने बताए ।  सामाजिक र आर्थिक विकासमा युवा शक्तिलाई सदुपयोग गर्न सकिए छिट्टै मुलुक सम्बृद्ध बन्ने जिकिर गर्दै उनले  युवाहरूमा बढ्दै गएको निराशा र असन्तुष्टिलाई दृष्टिगत गरेर युवा लक्षित कार्यक्रम सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए । 

फाउण्डेशनका अध्यक्ष भुपेन्द्र कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्ति तथा कांग्रेसका तर्फ निर्वाचित जनप्रतिनिधिलाई सम्मान गरिएको थियो ।  
   
 

प्रतिक्रिया