नेपालमा अब कहिल्यै हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने : प्रधानमन्त्री ओली

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । 

क्याप्टेन रामेश्वर थापाद्वारा लिखित ‘इन टु द फायर’ पुस्तकको विमोचन कार्यक्रममा शनिबार ओलीले  लोकतान्त्रिक शासन प्रणालीमा अरुको अधिकार हनन हुनेगरी कुनै पनि काम गर्न नदिने स्पष्ट पारे । 
लोकतन्त्र र संविधानलाई सबल बनाउन निरन्तर लागिपर्ने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले लोकतन्त्रविरुद्ध लड्नेहरूले लोकतन्त्रवादीहरूलाई तर्साउन सम्भव नभएको बताए । ओलीले भने, “हामीले लडेर ल्याएको लोकतन्त्र र संविधानलाई सबल बनाउन हामी लागेका छौँ । लोकतन्त्रविरुद्ध लड्नेहरूले हामीलाई तर्साउन सम्भव छैन ।”

विगतमा जस्तो नेपालमा अब कहिल्यै हिंसात्मक गतिविधि हुन नसक्ने र हुन नदिने प्रतिबद्धता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले भने, “हामीलाई सिक भनेर चर्काे स्वरमा बोल्नेहरूलाई म राम्ररी सिक भन्न चाहन्छुु, नेपालमा अब बेथिति, अराजकता र हिंसाको राजनीति सम्भव छैन । सम्भव हुन दिइँदैन ।”

प्रधानमन्त्री ओलीले नेपालको आफ्नै पहिचान भएकाले कुनै पनि देशको नक्कल गर्नुपर्ने आवश्यकता नरहेको स्पष्ट पार्दै भने, “नेपालको आफ्नै पहिचान, सभ्यता र संस्कृति छ । बङ्गलादेशमा जे भयो, त्यो यहाँ हुँदैन । नेपाल कुनै मुलुकको ‘फोटोकपी मेसिन’ होइन, यहाँ त्यस्तो हुन सम्भव छैन ।”

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पनि सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले लोकतन्त्र र देश बनाउने अभियानमा आफू ६ दशकदेखि लागिरहेको स्मरण गर्दै समाजको सुव्यवस्थाका लागि मानव जातिले राजनीति र राजनीतिक दल सृजना गरेकाले राजनीतिप्रति घृणा फैलाउने प्रयास गर्न नहुने उल्लेख गरे । 
 

प्रतिक्रिया