रैथाने बीउ र बालीको संरक्षण गरिनुपर्नेमा पुर्व राष्ट्रपतिको जोड
काठमाडौँ । सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले रैथाने बीउ, बाली हराउँदै जान थालेकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिएका छन् ।
रैथाने एग्रो प्रोडक्ट्स् नेपाल टोखा–४ ले प्रत्येक शनिबार राजधानीको दरबारमार्गमा आयोजना गर्ने गरेको रैथाने कृषि बाली मेलाको आज यहाँ अवलोकन गर्नुहुँदै उनले यस्ता विषयले नेपालका राजनीतिकर्मीको मन दुख्नुपर्ने यादवले बताए ।
रैथाने बीउ, बाली हराएर लोप भए कृषि प्रणालीमै समस्या आउने भएकाले सरोकार भएका निकायले ध्यान यसतर्फ जानुपर्ने प्रथम राष्ट्रपति यादवले बताए । चुरे क्षेत्रको विनाशले तराईमा पानी कम भई खानेपानीकै अभाव भएकाले कृषिकर्मका लागि त झन् समस्या हुन थालेको यादवले बताए ।
चुरे क्षेत्रको संरक्षण नगरी सडकलगायत काम गर्दा नेपालमै राम्रो अन्न उत्पादन हुने तराई क्षेत्र उजाड बन्ने खतरा देखिन थालेकाले समयमै सचेत हुनुपर्नेमा प्रथम राष्ट्रपति यादवले सचेत गराएका थिए । पहिले गाउँगाउँमा जेटिए गएर कृषिकर्म गराउने गरेकामा अहिले त्यो व्यवस्थाको अन्त्य गराएर नेपालको कृषि प्रणाली अधोगतितर्फ जान थालेकाले बेलैमा सचेत हुनुपर्ने उनले जोड दिए ।
सो अवसरमा रैथाने एग्रो प्रोडक्ट्स् नेपालका अध्यक्ष तिलक ढकालले उपभोक्ताले स्वस्थ एवं अग्र्यानिक उत्पादन पाऊन् भन्ने उद्देश्यले प्रत्येक हप्ताको शनिबार दरबारमार्गस्थित ओरियन क्याफेमा मेला आयोजना गर्ने गरिएको जानकारी दिए ।
साप्ताहिक रूपमा शनिबार बिहान ६ देखि मध्याह्न १२ बजेसम्म चल्ने मेलामा रैथाने उत्पादनको बिक्रीवितरण हुने गरेको छ । मेलामा उपभोक्ताको सहभागिता पनि बढ्न थालेको संस्थाका सदस्य वैकुण्ठ प्याकुरेलले जानकारी दिए ।
रैथाने उत्पादनलाई तीनै तहका सरकारले प्रवर्द्धन गर्नेगरी नीति निर्माण गरिनुपर्नेमा प्याकुरेलले े जोड दिए ।
रासस
प्रतिक्रिया