काभ्रेमा डेङ्गी संक्रमण बढ्यो
काभ्रेपलाञ्चोक । डेढमहिनाको अवधिमा काभ्रेपलाञ्चोकको नौ स्थानीय तहमा डेङ्गी संक्रमण फैलिएको छ । शुक्रबार एकै दिन छ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ ।
पछिल्लो २४ घण्टामा पनौती नगरपालिकामा दुई पुरुष र एक महिला, बनेपा नगरपालिकामा एक महिला, मण्डनदेउपुर नगरपालिका र भुम्ल गाउँपालिकामा एक/एक पुरुषमा डेङ्गी सङ्क्रमण देखिएको कार्यालय प्रमुख रागीश्री कक्षपति श्रेष्ठले जानकारी दिए ।
उनका अनुुसार गत साउनदेखि हालसम्म जिल्लामा ५७ जनामा डेङ्गी संक्रमण देखिएको छ । संक्रमितमध्ये २७ पुरुष र ३० महिला छन् । “शुक्रबार एकै दिन छ जनामा डेङ्गी देखिएको छ, सचेतना कार्यक्रम बढाइँदै लैजान्छौँ, व्यक्ति आफैँं पनि सचेत बन्नुपर्दछ”, श्रेष्ठले भने ।
बनेपा, पनौती र धुलिखेल नगरमा बढी संक्रमित छन् । बनेपा र पनौतीमा १३/१३ जना, धुलिखेलमा १२, भुम्लु गाउँपालिकामा आठ, नमोबुद्ध नगर र रोशी गाउँपालिकामा तीन/तीन, पाँचखाल, मण्डनदेउपुरमा दुई/दुई र तेमाल गाउँपालिकामा एक डेङ्गी संक्रमित रहेका प्रमुख श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया