नागरिक समाज — लोकतन्त्रको पहरेदार

प्रजातन्त्रमा स्वतन्त्ररुपमा खबरदारी गर्ने पहरेदार भनेको नागरिक समाज हो । सरकारी निकाय तथा नाफामुखी संस्था बाहेकका सवैखाले संस्था नागरिक समाज हुन् । यसलाई तेस्रो खाले समाज पनि भन्दछन् । निहित राजनीतिक उद्देश्य वा स्वार्थी राजनीतिक उद्देश्यले पे्ररित संस्था नागरिक समाज हुन सक्दैनन् । कुनै दल विशेषलाई पुष्टि गर्नका लागि र कुनै दलको भगिनी संस्थाजस्तै गरी चलाइने संस्थाले नागरिक समाजको हैसियत पाउन सक्दैनन् । 

नागरिक समाज भनेको मध्यस्थताकर्ता  र जागरुक नागरिकहरुको खुकुलो समूह हो । संगठित वा असंगठितरुपमा समाजका लागि सक्रिय समूह नै नागरिक समाज हो । त्यस्ता संगठित समाज भनेका कुनै निश्चित अवधारणासहित निश्चित समूहको हितका लागि गठित पेसागत संस्था, धार्मिक समूह, मजदुर संगठन, नागरिकका पक्षमा बोल्न संस्थाहरु जसमा  एउटाको हितमा समाजका विभिन्न समूहहरुको हित निहित हुन्छ, जसले वाणीविहीनहरुको वाणी बोल्ने गर्दछन् । तिनले बालबालिकाहरुका लागि, बृद्धहरुका लागि, समाजमा प्रताडित, अल्पसंख्यकहरुका, सीमान्तकृत जनताका लागि बोलीे दिने संस्थालाई पनि नागरिकका तर्फबाट बोलीदिने समाजको रुपमा लिनुपर्दछ । लोकतन्त्रमा त्यस्ता वाणीविहीनका वाणीहरु बोल्ने र लोकतन्त्रलाई सवैको पहुँचमा पु¥याउने काम नै नागरिक समाजले गर्दछ । 

प्रेसले नागरिक समाजलाई लोकतान्त्रिक बनाउन र लोकतन्त्रको विश्वव्यापी मान्यताका वारेमा जागरुक बनाउँछ , त्यसैले प्रेस लोकतन्त्रलाई सवै नागरिकको पहुँचमा पुर्‍याउने प्रमुख माध्यम हो । त्यसैले प्रेस पनि नागरिक समाजको अभिन्न अङ्ग हो । यदि प्रेसले कुनै उद्देश्य राखेर समाचार सम्प्रेषित नगरे पनि समाचार आफैँमा, विचार आफैँमा नागरिकको धारणा बनेको हुन्छ र नागरिक समाजको प्रतिनिधित्व गरिरहेको हुन्छ । 
 प्रजातन्त्रका प्रमुख तीन अङ्गहरु हुन्छन्—कार्यपालिका, व्यवस्थापिका र न्याय पालिका । व्यवस्थापिकाको नियन्त्रण र संरक्षणमा रहेको कार्यकारी तर स्वतन्त्र संस्था हो कार्यपालिका जसलाई स्वतन्त्र न्यायपालिकाले निरन्तरताको सतर्कतामा सचेत बनाइरहेको हुन्छ ।

ती तीनओटा संस्थाहरु सवै जनताका लागि स्वतन्त्र र सक्षमताका साथ काम गरिरहेका हुन्छन् । ती संस्थाहरु शक्ति पृथकीकरणको सिद्धान्त अनुसार चलेका हुन्छन् । आफूमा प्रत्येक संस्था स्वायत्त हुन्छन् तर एक–अर्काप्रतिको अन्तरनिर्भरता पनि उदाहरणीय हुन्छ ।  तर तिनका पनि आफ्ना आफ्नै गुनासा हुन्छन् र काम गर्ने तरिकामा कहिलेकाहिँ देखिने कमजोरी पनि लोकतन्त्रका नै विशेषताभित्र पर्दछन् । तिनका लागि स्वयं जनता नै सजग र सतर्क भएर खबरदारी गर्नुपर्दछ । तर जनता कहिलेकाहिँ अमूर्त हुनजान्छ । जनता सवै नै सबै ठाउँमा पुग्न पनि सक्दैनन् र सवैको सवै ठाउँमा पहुँच पनि हुन सम्भव छैन । लोकतन्त्रमा सवैको पहुँच नपुगेको अवस्थामा नागरिकका कुराहरु ठीक ठाउँमा पुर्‍याउने र समाजका लागि सरकारलाई, विधायकहरुलाई र न्यायमूर्तिहरुलाईसमेत आवश्यक जानकारी उपलब्ध गराउने भनेको वा  जनताको आवाज सामयिकरुपमा सवै ठाउँमा पु¥याउने नै नागरिक समाजले हो । 

लोकतन्त्रको बचाउ गर्ने भनेको राजनीतिक दलहरुले हो । लोकतन्त्रको अभ्यास गर्ने आधारभूत पक्ष भनेको जनता हो, जनताको पक्षमा बोल्ने र जनताको प्रत्यक्ष संंलग्नतामा गठित राजनीतिक दलहरुले नै लोकतन्त्रलाई लोकको शासन व्यवस्थामा परिणत गर्ने गर्दछन् । 
 
सरकारको नियन्त्रण सदैव व्यवस्थापिकाले गरिरहेको हुन्छ , चाहे त्यो कानुन निर्माणको साँचो आफ्नो हातमा लिएर बसेको अवस्थामा वा सरकारलाई कुनै पनि बेला स्थापना वा विस्थापन गर्नसक्ने शक्तिशाली मतको पोको लिएर बसेको अवस्थामा होस् । अनि यी सबै शक्ति पृथकीकरणको सिद्धान्तको परिपालना भयो कि भएन भनेर बाहिरबाट खबरदारी गर्न प्रेस जागा हुन्छ जनताका लागि प्रत्यक्ष सहयोगका लागि । प्रजातन्त्रको प्रहरी जस्तै बनेर । समाज, कानुन र नैतिकताको पहरेदारको रुपमा ।

आफ्नो हितमा मात्र काम गर्ने संस्था नागरिक समाज होइनन् । लोकतन्त्रमा नागरिकहरुलाई आफ्नो सामाजिक, आर्थिक, भाषिक र साँस्कृतिक पक्षहरु प्रबद्र्धन तथा सम्बद्र्धन गर्नका लागि समाज वा संस्था खोल्ने अधिकार हुन्छ । सङ्घ संस्था खोल्ने अधिकार मानवीय स्वतन्त्रता, मानवअधिकार हो जुन लोकतन्त्रको आधारभूत सिद्धान्त नै हो । नागरिक समाजको अत्यन्त महत्वपूर्ण राजनीतिक तथा सामाजिक भूमिका हुन्छ समाजमा ।

नागरिक समाजले समाजको विशेषखाले स्वार्थको लागि काम गर्दछ  । नेपाली परिप्रेक्ष्यमा खासगरी पिछडिएका वर्गहरु जस्तै अपाङ्गता भएका व्यक्तिहरु, महिला, दलित, आदिवासी, जनजाति,सीमान्तकृत— हिमाली,पहाडी मधेसी, —कमजोर वर्गको प्रतिनिधित्व र पहुँचको नीति निर्णयको प्रक्रियामा तिनीहरुलाई पु¥याउन यसले योगदान दिन्छ । देशको प्रशासन, संसद् , न्यायपालिका र राज्यले नागरिक समाजबाट यही अपेक्षा गरिरहेको हुन्छ । ऐच्छिक र स्वयम्सेवी संस्थाहरुको सञ्जाललाई नागरिक समाजले बलियो बनाउँछ । यसबाट लोकतन्त्रमा विश्वास र सहयोगको भावना बढ्नाले द्वन्द्व निवारण र शान्तिका लागि क्रियाकलापहरु बृद्धि गर्न पनि मद्दत पुग्दछ । 

संयुक्त राज्य अमेरिकामा झट्टहेर्दा राष्ट्रपति शासन भएजस्तो देखिन्छ तर संसदले कसरी नियन्त्रण गर्दछ भन्ने कुराको साक्षीचाहिँ संसदले राष्ट्रपतिलाई महाअभियोग लगाएर हटाउन सक्छ भन्ने हो । केही महिना पहिले संसदले बजेट पारित नगर्दा सम्पूर्ण खर्च रोकिएको देखियो । अनि यी सबैका खबरदारी गर्नका लागि नागरिक समाजको भूमिका लोकतन्त्रमा अत्यन्त गहकिलो हुन्छ । 

नागरिक समाजबाट आम नागरिकले लोकतन्त्रका पक्षमा प्रशस्त जानकारी प्राप्त गर्दछन् । सानासाना समुदायका क्रियाकलापमा सम्मिलित नागरिकहरुले राजनीतिले कसरी काम गर्दछ, लोकतन्त्रमा कसरी सवै समुदायको हित निहित हुन्छ भन्ने वारेमा ज्ञान हासिल गर्दछन् । 

लोकतान्त्रिक प्रक्रिया भनेको के हो र लोकतान्त्रिक प्रक्रियाद्वारा कसरी काम हुन्छ भन्ने कुरा पनि नागरिक समाजले ती समुदायहरुलाई सिकाउँछन् । नागरिक समाजले नै सरकार र सार्वजनिक क्षेत्रका बीचमा मध्यस्थताको काम गर्दछन् । एक प्रकारले नागरिक समाजले लोकतान्त्रिक संस्थाहरुको काम कर्तव्य र व्यवहारको मिहिन तरिकाले जाँचपडताल गरेर सेवाग्राही संस्थाहरुलाई सदैव सतर्क र सेवामुखी बनाइरहेका हुन्छन् । यसप्रकार नागरिक समाजको चासो र संलग्नताले लोकतन्त्रको सामाजिक आधार बलियो बनाइरहेको हुन्छ । नागरिक समाजले दलहरुलाई सतर्क बनाउँछन् र मात्र दलहरुको क्रियाकलापमा सन्तुलन आउँछ । आफ्नो उद्देश्य प्राप्तिका लागि र आफ्नो क्रियाकलापको बढ्दो राजनीतिक प्रभावका लागि नागरिक समाज दलहरुसँग मिलेर सहकार्य गर्दछन् ।

त्यसो त नागरिक समाजका व्यक्तिहरु नै दलका सक्रिय सदस्य पनि हुन सक्छन् र हुन्छन् पनि । यसप्रकार नागरिक समाजको गतिविधि र भूमिकाले राजनीतिक दलको कार्य दिशा निर्धारण गर्दै उनीहरुलाई उद्देश्यप्राप्तिका लागि सक्षम पनि बनाउँछ । नागरिक समाजले सरकारको काममा पनि लगाम लगाउँछ । सरकारको कार्यले अपेक्षित परिणाम ल्याउँछ कि ल्याउँदैन , त्यसबारे नागरिक समाज सदैव निगरानी राखेर बसेको हुन्छ । 

लोकतन्त्रको महत्वपूर्ण तत्वमा सक्रिय नागरिक समाजको अस्तित्वले लोकतान्त्रिक प्रक्रियाहरूमा व्यक्तिहरूको सहभागितासम्बन्धी क्षमता र चाहना अनि शासनको छनौटमा कुनै अर्को सम्झौता गर्न सक्दैन । त्यसैले लोकतान्त्रिक अभ्यासमा देखापर्ने कुनै पनि बाधा अवरोध हटाउँदै लानुपर्दछ र क्षमता अभिवृद्धि गर्दै वास्तविक सहभागिताका लागि स्थिति सहज बनाउनुपर्दछ । लोकतन्त्रमा अरु थोकभन्दा सहभागिता, समानता,उत्तरदायित्व, पारदर्शिता तथा शिक्षालाई अपरिहार्यरुपमा स्थायी स्थान दिनुपर्दछ जसले अज्ञानता, असहिष्णुता, उदासीनता, असमानता वा विभेद हटाउँदै सामाजिक, सांस्कृतिक, धार्मिक तथा जातीय भाव वा लैङ्गिक कारणहरूमा भएका गल्तीहरू सुधार गर्न सकियोस् र वैकल्पिक उपायहरूद्वारा जनताको सहभागिता बढाउन सकियोस् जसले सामाजिक न्यायको प्रत्याभूत गर्न सकोस् ।

लोकतन्त्र कहिल्यै पूर्ण पनि हुँदैन र अपूर्ण पनि हुँदैन । सदैव गतिशील भएकाले नै त्यो संशोधनीय पनि हुन्छ तर मौलिक हकमा कुनै सम्झौता गर्न नसकिने हुन्छ । जनताका इच्छा र आकाँक्षाले चल्ने व्यवस्था भएकोले लोकतन्त्रमा केके प्राप्त गर्ने भन्दा पनि केके प्राप्त भएका छन् , तिनको लेखाजोखा गर्दै जनताका आवश्यकता पूरा गर्दै जाने पनि हो ।

कुनै वाधा अवरोधविना, कसैको डरविना, सार्वजनिक संस्थाहरुमा जनताको पहुँच आवश्यता हुन्छ, खासगरी भ्रष्टाचारबाट मुक्तिसहितको पहुँच, पारदर्शितासहितको पहुँच, दायित्वबोधसहितको पहुँच । त्यसलाई नागरिक समाजले पहुँचमा ल्याएको हुन्छ । नागरिक समाजको पहुँच र भूमिका कम गर्न चाहने शासकहरु कि त त्यो शासन निरङ्कुश हुन खोजेको हुन्छ , कि त त्यो शासनले भइरहेको आफ्नो राज्यलाई टुक्राउन चाहेको हुन्छ या आन्तरिक द्वन्द्वमा फसेको हुन्छ । कतिपय आन्तरिक द्वन्द्वमा फसेका राज्य संयन्त्र र गैरराज्य संयन्त्रलाई वार्तामा ल्याएर लोकतन्त्र स्थापना गर्न नागरिक समाज सफल भएका पनि छन् । 

लोकतन्त्र नागरिक समाजविना  अस्तित्वमा नै रहन सक्दैन , अनि नागरिक समाज पनि त्यस्ता जनसंख्या विना तयार हुनै सक्दैन जहाँ स्वाभिमानी र स्वतन्त्र विचार राख्नेहरुको जमात रहँदैन । लोकतन्त्रमा मात्र इच्छाशक्ति भएका नागरिकहरुको समर्थन वा विरोध गर्नसक्ने क्षमताको कदर हुन्छ नै । लोकतन्त्रमा नागरिक समाजको महत्व हुनुका पछि के पनि छ भने शिक्षा अपरिहार्य तत्व हो नागरिकलाई शिक्षित र  दीक्षित बनाउन । 

नेपालमा धार्मिकरुपमा गुठी, विभिन्न जातजातिका लागि आफ्नो कुलधर्म मान्नका लागि त्यस्ता संस्था गठन भएको पाइन्छ इतिहासको थाहापाइने समयभन्दा पनि पहिले  । चर्खा आन्दोलन, पुस्तकालय स्थापना आन्दोलन, मकैको खेतीगर्ने निहुँमा राणा विरोधी आन्दोलनलाई अघि बढाउने लिखत ती बेलाका नागरिक समाजका काम हुन् । विक्रम सम्वत् २०३६ सालको जनमत संग्रहपछि नेपालमा लोकतन्त्रका लागि प्रत्यक्ष लड्ने दलहरुभन्दा पेसागतरुपमा लोकतन्त्रलाई सहयोग गर्न विभिन्न समूहहरु स्थापना भए जसले मानवअधिकार र लोकतन्त्रलाई महत्व दिए । २०४६ सालको प्रजातन्त्र स्थापनाका लागि पनि नागरिक समाजका तर्फबाट ठूलो सहयोग भएको पाइन्छ  तर नागरिक समाजको महत्व र भूमिकाका वारेमा त्यत्ति धेरै वहस भएको पाइँदैन ।

२०४७ सालको संविधानले नागरिकहरुलाई समूह गठन गर्न पूर्ण छुट भएकोले राजाले २०५८ सालमा सत्ता कब्जा गरेपछि भने नागरिक समाजको ठूलो हिस्साले लोकतन्त्रको पक्षमा वकालत ग¥यो जबकि राजनीतिक दलहरु आफैँमा विभाजित थिए र के गर्ने , के नगर्ने भन्ने संशयमा थिए । नेपाल पत्रकार महासँघ, नेपाल चिकित्सक संघ, नेपाल बार एसोसिएसन, नेपाल शिक्षक संघ, नेपाल राष्ट्रिय शिक्षक संगठन जस्ता विभिन्न पेसाका संस्थाहरु मिली पापड गठन गरे र लोकतन्त्रका लागि आम नागरिकलाई आन्दोलन गर्न विउँताए । उनीहरुले स्पष्ट शब्दमा भने कि लोकतन्त्र भनेको विश्वव्यापी अधिकार हो, यसमा प्रमुख पात्रहरु भनेका राजनीतिक दलहरु हुन् , तिनलाई सहयोग गरेमात्र नागरिक हक प्राप्त गर्न सजिलो हुन्छ । 

अर्काे समस्या पनि देखा परेको छ कि विभिन्न दलहरुले पनि नागरिक समाजका नाममा आफ्ना भरौटे पात्रहरुलाई प्रयोग गरेर विदेशी रकम लिँदै आफ्ना पार्टीका पक्षमा काम गराई रहेकाले नागरिक समाज भनेको डलरको खेतीगर्ने र समाजलाई गलत धारमा लैजाने संस्था भन्ने भान परेको छ । स्वयं ंघोषित नागरिक समाज र तिनका स्वघोषित नेता वा अगुवाहरुबाट लोकतन्त्रविरुद्धसमेत नारा र मानवअधिकार विरुद्ध एकलकाँटे नारा र प्रचार गरेकोले अहिले नेपालमा नागरिक समाजप्रतिको धारणा नकारात्मक पाइएको छ । तर अहिले नागरिक समाजप्रतिको धारणा किन पनि सकारात्मक हुन थालेको छ भने भ्रष्टाचारविरुद्ध नागरिक समाजले अनवरत आवाज उठाएर कार्बाहीका लागि सम्बन्धिन संस्थाहरुलाई बाध्य पार्न थालेको अवस्था पनि छ ।

अब गर्नुपर्ने काम के हो भने नागरिक समाजलाई मुलुकको लोकतान्त्रिक प्रक्रियाको पहरेदार बनाएर सरकार, व्यवस्थापिका र न्यायपािलकालाई सदैव उनीहरुले गर्नुपर्ने कामका लागि सजग, सतर्क र सेवामुखी बनाउने काममा लगाइराख्ने हो । लोकतन्त्रको विकल्पमा लोकतन्त्र मात्र हुनसक्छ र प्रेसमार्फत् नागरिक समाजका कामहरु सुचारु गराउन सकिन्छ किनभने प्रेस स्वयँ नागरिक समाजको विकसित र कर्तव्यशील आधार हो । लोकतन्त्रमा प्रेसलाई राज्यका तीन अङ्गभन्दा पनि सशक्त र सन्तुलन कायम गराउने संयन्त्रको रुपमा पनि लिइन्छ । त्यसैले नागरिक समाजको परिचय सकारात्मक रुपमा प्रस्तुत गरी त्यसबाट लोकतन्त्रलाई पुष्टि गराउने काम हुनुपर्दछ । अहिले नयाँ संविधानको कार्यान्वयनको महत्वपूर्ण समय भएकाले यस्तो बेलामा लोकतन्त्रका विशेषताहरुलाई अविच्छिन्नरुपमा सक्रिय  गराउन पनि नागरिक समाजको भूमिका उत्तरदायीपूर्ण हुनु पर्दछ ।  

एउटा स्थिर लोकतन्त्रमा लोकतान्त्रिक वातावरण र लोकतान्त्रिक सँंस्कृतिको आवश्यकता पर्दछ जसलाई शिक्षाले पालनपोषण गर्दै सुदृढ पार्दछ र शिक्षाले नै संस्कृति र सूचनालाई जनतासमक्ष पु¥याउँछ । त्यसैले एउटा लोकतान्त्रिक समाजले व्यापकरुपमा शिक्षालाई ग्रहण गर्नुपर्दछ र खासगरी शिक्षाले नागरिकलाई नागरिक शिक्षाद्वारा असल नागरिकका रुपमा परिणत गराउनुपर्दछ । नागरिक समाजको खास काम नै नागरिक शिक्षा प्रदान गरी कुनै पनि लोकतान्त्रिक संस्थाका लागि नागरिक तयार गर्नु हो । त्यसैले समाजका लागि लोकतन्त्रीकरणको प्रश्नमा लोकतान्त्रिक संविधानको कार्यान्वयन अति आवश्यक छ र त्यसका लागि चेतनामूलक अभियानको नेतृत्व नागरिक समाजको हुनुपर्दछ । सक्रिय नागरिक समाजले मात्र लोकतन्त्रलाई बलियो पार्न सक्छ । 

प्रतिक्रिया