कानुनमन्त्री सिंहको निधनमा सुदूरपश्चिममा आज शोक बिदा
सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वीबहादुर सिंहको निधनमा सुदूरपश्चिम सरकारले आज एक दिन शोक बिदा दिने निर्णय गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारको बैठकले सवारी दुर्घटनामा परी निधन भएका मृतकहरूप्रति श्रद्धाञ्जली एवं शोक सन्तप्त परिवारजनमा समवेदना प्रकट गर्नुका साथै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै मन्त्री पृथ्वी बहादुर सिंहको असामयिक निधनमा आज दिन सुदूरपश्चिम प्रदेशभर शोक बिदा दिने निर्णय गरेको हो । आज सुदूरपश्चिम प्रदेशभरका सरकारी तथा सार्वजनिक निकायहरूमा नेपालको राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ । सिंहको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका आज धनगढी रंगशालामा राखिने भएको छ । धनगढीमा श्रद्धाञ्जली सभापछि अन्त्येष्टिका लागि गृह जिल्ला बझाङ लगिने बताइएको छ । सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री पृथ्वी बहादुर सिंह सरकारी कामको सिलसिलामा मंगलबार दिउँसो डडेलधुरा जिल्लाबाट बझाङ जिल्ला जाने क्रममा बझाङको केदारस्यूँ गाउँपालिका १ जुवालीखेत, देउरामा मन्त्री सिंह सहित ५ जना सवार सु.प. प्र. ००१ झ. ४८० नम्बरको गाडी दुर्घटनामा परेको थियो । सडकबाट करिब ५० मिटर तल खोला किनारमा खसेर भएको दुर्घटनामा मन्त्री सिंहसहित उनकी श्रीमती अमृतादेवी सिंह र भाउजू जयादेवी सिंहको निधन भएको हो । अमृतादेवी र जयादेवीको प्राथमिक उपचारको क्रममा देउरास्थित रितु पोलिटेक्निकमा निधन भएको र मन्त्री सिंहलाई उपचारको लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज मेडिकल कलेज पुरÞ्याइएकोमा उपचारको क्रममा बेलुका मृत घोषणा गरेको थियो । मन्त्री सिंहका अङ्गरक्षक ३५ वर्षीय दीपक भण्डारी र गाडी चालक ३५ वर्षीय धर्मराज जोशीको नेपालगन्ज मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ ।
प्रतिक्रिया