सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन संशोधनसहित स्वीकृत

काठमाडौं ।  राष्ट्रिय सुरक्षा परिषद्काे छैटौँ र सातौँ वार्षिक प्रतिवेदनको मस्यौदा संशोधनसहित स्वीकृत भएको छ । 

प्रधानमन्त्री एवं राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत आइतबार बसेको परिषद्को ३४ औँ बैठकले आव २०७९/८० र आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनको मस्यौदालाई संशोधनसहित स्वीकृत गरेको परिषद सचिवालयले जनाएको छ ।

बैठकले संविधान बमोजिम उक्त प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । बैठकमा वर्तमान अन्तर्राष्ट्रिय, क्षेत्रीय र राष्ट्रिय सुरक्षा वातावरण सम्बन्धी समीक्षा भएको थियो ।

बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती, राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव, चुनौती र अपनाउनुपर्ने भावी रणनीतिबारेमा छलफल भएको परिषद्द्वारा जारी विज्ञप्तिमा  उल्लेख छ । बैठकमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री, गृहमन्त्री, परराष्ट्रमन्त्री, रक्षामन्त्री, मुख्यसचिव, कायममुकायम प्रधानसेनापति र रक्षासचिव सहभागी थिए । 
 

प्रतिक्रिया