सरकारले राजनीति र नीतिगत स्थिरताको वातावरण तयार गरेको छ : अर्थमन्त्री पौडेल

लुम्बिनी । उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले विकास र समृद्धिका लागि अहिले अनुकूल वातावरण बनेको स्पष्ट पारेका छन्  ।  उनले वर्तमान सरकार गठन भएपछिको छोटो अवधिमा महत्त्वपूर्ण उपलब्धि प्राप्त गरिसकेको दाबी समेत गरे । 

लुम्बिनी प्रादेशिक अस्पतालको नयाँ भवनको शनिबार शिलान्यास गर्दै  अर्थमन्त्री पौडेलले अर्थतन्त्र दबाबमा भएकाले  निराशामा रहेका निजी क्षेत्रलाई आशा, विश्वास र भरोसाका साथमा  उत्पादन र उत्पादकत्वमा लाग्न जरुरी रहेको बताएका छन् । 

उनले  दुई ठूला पार्टी मिलेर बनेको वर्तमान सरकार देशलाई अस्थिरताबाट जोगाउनु प्रमुख उद्देश्य रहेको समेत बताए ।  उनले नागरिकका अधिकार स्थापित गर्न लोकतन्त्र, नागरिकका अधिकारका लागि मुख्य दुई मुख्य पार्टी मिलेर वर्तमान सरकार बनेको जनाउँदै यसले एकसाथ राजनीति र नीतिगत स्थिरताको वातावरण निर्माण गरेको बताए । 

विकासका काममा सत्ता र प्रतिपक्ष मिलेर काम गर्नुपर्छ भने। उनले विकास निर्माणमा सत्तापक्ष प्रतिपक्षसँग सँगसँगै हिँड्ने र यसको राम्रो संस्कार लुम्बिनी प्रदेशमा रहेको बताए । 

अर्थमन्त्री पौडेलले भवनमात्र निर्माण गरेर नहुने उल्लेख गर्दै त्यसको प्रभावकारी व्यवस्थापनमा प्रदेश सरकारले ध्यान दिनुपर्ने बताए। उनले अस्पतालको भवन निर्माणसँगसँगै जनशक्ति र उपकरण व्यवस्थापनको प्रक्रिया पनि बेलैमा योजना बनाएर अघि बढ्न आग्रह गरे  । उनले भवन पूरा हुँदा पूर्ण क्षमतामा सेवा सञ्चालन पनि एकसाथ गर्न सकिने गरी काम गर्न प्रदेश सरकारलाई सुझाव दिए । 

    

प्रतिक्रिया