‘पुस्तकालयको विकास र प्रवर्द्धनमा सरकार प्रतिबद्ध छ’

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टाराईले सङ्घीय सरकार पुस्तकालयको विकास र प्रवर्द्धनमा प्रतिबद्ध रहेको बताएकी छन् । 

‘निरन्तर शिक्षाका लागि पुस्तकालय’ भन्ने नाराका साथ मनाइएको १७औँ पुस्तकालय दिवसका अवसरमा शनिबार आयोजित कार्यक्रममा मन्त्री भट्टराईले पुस्तकालयको विकासका लागि आवश्यक कानून, नीतिनियम निर्माणको चरणमा मन्त्रालय रहेको जानकारी दिइन् । 

हिजो समुदायको आवश्यकताका आधारमा पुस्तकालय खुलेका बताउँदै संविधान निर्माणपछि मौलिक अधिकारका रुपमा पुस्तकालय रहेका मन्त्री भट्टराईले उल्लेख गरिन् । उनले भनिन्, “पुस्तकालयको संरक्षण, प्रवर्द्धन र पठनसंस्कृतिको विकासका लागि राज्यले दायित्व लिनुपर्छ ।”

पुस्तकालयको विकासका लागि ऐन, नीति, नियम आवश्यक पर्ने बताउँदै मन्त्री भट्टराईले शिक्षा मन्त्रालयले २०६४ को पुस्तक नीतिलाई परिमार्जन गर्न प्रारम्भिक मस्यौदा तयार पारिसकेको जानकारी दिइन् । अहिले पुस्तकालय पुस्तकमा मात्रै सीमित नरहेको स्मरण गराउँदै उनले विद्युतीय पुस्तकालयको विकास गरी विश्वस्तरको पुस्तक अध्ययन गर्ने वातावारण निर्माण गर्न जरुरी रहेको बताएकी छन् । 

कानून र नीतिगत व्यवस्थापन भएपछि पुस्तकालयको स्रोत व्यवस्थापन गर्न सहज हुने मन्त्री भट्टराईले धारणा राखे । उनले यसका लागि पुस्तकालयका क्षेत्रमा काम गर्ने सबैको साथ, सहयोग र सुझाव आवश्यक पर्ने भन्दै आपसी सहकार्य र समन्वय गर्न सरोकार भएकालाई आग्रह गरिन् । 

प्रतिक्रिया